Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सबैभन्दा बढी कर तिर्ने बैंकहरु, कसले कति तिरे ?

२०७४ श्रावण २० गते

गत आर्थिक वर्षमा अर्बमाथि कर तिरेका २० कम्पनीमध्ये १० वटा वाणिज्य बैंकहरु परेका छन् । नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, नेपाल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक र एभरेष्ट बैंकले अर्वमाथि कर तिरेका हुन् ।

सबैभन्दा बढी एनसेलले ३० अर्ब १५ करोड ८२ लाख ९२ हजार रुपैयाँभन्दा बढी कर तिरेको आन्तरिक राजश्व विभागले जनाएको छ । विभागका अनुसार, नेपाल टेलिकमले १३ अर्ब ७२ करोड ९२ लाख ६५ हजार रुपैयाँ कर तिरेको छ । त्यस्तै, तेस्रो नम्बरमा रहेको सूर्य नेपाल प्रालिले सात अर्ब १८ करोड २७ लाख ८४ हजार रुपैयाँ कर तिरेको छ । त्यसपछि नेपाल आयल निगमले पाँच अर्ब ६९ करोड ५२ लाख ८७ हजार रुपैयाँ कर तिरेको छ । पाँचौँ ठूलो करदाता गोर्खा ब्रुअरी प्रालिले चार अर्ब १९ करोड ७९ लाख ९३ हजार रुपैयाँ कर तिरेको छ ।

सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंक नविल बैंक रहेको छ, जसले गत आर्थिक वर्षमा दुई अर्ब २१ करोड ४७ लाख ९४ हजार रुपैयाँ कर तिरेको छ । धेरै कर तिर्ने समग्र कम्पनीहरुको सूचिमा भने नविल बैंक छैटौँ स्थानमा छ । दुई अर्ब तीन करोड ४७ लाख २० हजार रुपैयाँ कर तिरेर नेपाल इन्भेष्टमेन्ट बैंक सातौँ स्थानमा छ । त्यसपछि कृषि विकास बैंकले एक अर्ब ६४ करोड ७३ लाख ५१ हजार रुपैयाँ कर तिरेको छ । 

धेरै कर तिर्ने सुचीको ९औं स्थानमा रहेको सिप्रदी ट्रेडिङ प्रालिले एक अर्ब ४२ करोड ५५ लाख १८ हजार रुपैयाँ कर तिरेको छ । त्यसपछि छ नेपाल बैंक, जसले एक अर्ब ३९ करोड ४६ लाख ५० हजार रुपैयाँ कर तिरेको छ । अर्काे अर्बपति करदाता हिमालयन बैंकले एक अर्ब ३८ करोड ३० लाख ५८ हजार रुपैयाँ कर तिरेको छ ।

राज्यको १२औँ ठूलो करदाता नेप्सेले गत आर्थिक बर्षमा एक अर्ब ३१ करोड ४० लाख दुई हजार रुपैयाँ कर बुझाएको छ । त्यसपछि राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब २९ करोड १३ लाख ६२ हजार रुपैयाँ कर तिरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण एक अर्ब २५ करोड ६७ लाख २८ हजार रुपैयाँ कर तिरेर १४औँ ठूलो करदाता बनेको छ । 

एक अर्ब २५ करोड ३७ लाख ६७ हजार रुपैयाँ कर तिरेर ग्लोबल आईएमई बैंक १५औँ ठूलो करदाता बन्न सफल भएको छ । १६औँ स्थानमा अग्नी इन्कर्पोरेट प्रालि छ, जसले एक अर्ब २० करोड ५४ लाख ४० हजार रुपैयाँ कर तिरेको छ । १७औँ ठूलो करदाता नेपाल एसविआई बैंकले एक अर्ब १० करोड तीन लाख ४४ हजार रुपैयाँ कर तिरेको छ । त्यसपछि, एनआइसी एशिया बैंकले एक अर्ब आठ करोड १७ लाख १ हजार रुपैयाँ कर तिरेको छ ।

त्यसैगरी, १९औं स्थानमा जगदम्बा स्टिल्स प्रालि, जसले एक अर्ब छ करोड ९० लाख ७३ हजार रुपैयाँ कर तिरेको छ भने २० औँ नम्बरको अर्वपति करदाता एभरेष्ट बैंकले गत आर्थिक बर्षमा एक अर्ब चार करोड ५१ लाख ४५ हजार रुपैयाँ कर तिरेको छ ।

Ad