धेरै दिनपछि सेयर बजारमा हरियाली छाएको छ । बैंकिङ र अन्यबाहेक सबै उपसूचक बढेपछि समग्र बजार ७.११ अंकले बढेर १६३६.१९ अंकमा पुगेको छ । सबैभन्दा धेरै बीमा समूह १५७.३२ अंकले बढ्दा उत्पादनमूलक ७९.८५ अंकले बढेको छ । व्यापार, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः १.३५, ८.३९, ६.४८, १८.०३ र ६.९६ अंकले बढेका छन् । बैंकिङ र अन्य भने क्रमशः ०.४ र ३.१८ अंकले घटेका छन् ।
परिसूचक उकालो लागेपनि कारोबार रकममा भने गिरावट आएको छ । साताको सुरुवातदेखि नै एक अर्बमाथिको कारोबार भइरहेको बजारमा मंगलबार ९४ करोडको कारोबारमा सीमित भएको छ । दिनभरिमा १५६ वटा कम्पनीको १३ लाख ७१ हजार एक सय १० कित्ता सेयर सात हजार चार सय छ पटक खरिदविक्री हुँदा ९४ करोड ८५ लाख ६५ हजार एक सय छ रुपैयाँको कारोबार भएको छ ।
कुल कारोबारमध्ये, राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर सेयरको सबैभन्दा धेरै १० करोड २९ लाखमाथिको कारोबार भएको छ । नेपाल इन्स्योरेन्सको पाँच करोड तथा प्रभु इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र नेशनल हाइड्रोको तीन करोडमाथिको कारोबार हुँदा एसियन लाइफ इन्स्योरेन्सको झन्डै तीन करोडको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।
राष्ट्रिय बीमा कम्पनीका साधारण र प्रोमोटर दुवै सेयरधनीले मंगलबार १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन डिस्टीलरी, ङादी ग्रुप पावर र लुम्बिनी विकास बैंकका सेयरधनीले क्रमशः ९.९६, ९.६२ र ९.५२ प्रतिशतका दरले कमाएका छन् भने बरुण हाइड्रो, अरुण फाइनान्स, बोटलर्स नेपाल, नेपाल इन्स्योरेन्स, रिलायन्स फाइनान्स लगायतका सेयरधनीले पनि राम्रो कमाइ गरेका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिनर्जी पावरका सेयरधनीले ४ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाएका छन् । हाम्रो विकास बैंक, कुबेर मर्चेन्ट फाइनान्स, नेशनल हाइड्रो, युनाइटेड फाइनान्स, लक्ष्मी भ्यालु फण्ड, स्वरोजगार लघुवित्त, रुरल माइक्रोफाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक प्रोमोटर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



