Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लगानीको निम्ति नयाँ क्षेत्र पहिल्याउँदै बैंकहरु

admin २०७४ श्रावण १० गते
सेयर:

रुपा कोइराला । घरजग्गा तथा सवारी कर्जामा कडाई गरेपछि बैंकहरु लगानीको नयाँ क्षेत्र खोज्न थालेका छन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले घरजग्गा, सवारी जस्ता अनुत्पादक क्षेत्रमा गरिने लगानीमा कडाइ गर्न थालेपछि बैंकहरुले लगानीका लागि अन्य उपयुक्त क्षेत्र पहिल्याउन थालेका हुन् । 

राष्ट्र बैंकले जलविद्युत, कृषि, पर्यटन, निर्यात, साना एवम् मझौला उद्योग, औषधी उत्पादन, सिमेन्ट, गार्मेन्ट लगायतका उत्पादनशील क्षेत्रलाई समावेश गरी प्राथमिकता प्राप्त क्षेत्रको रुपमा परिभाषित गरेको छ । यी क्षेत्रमा वाणिज्य बैंकले २५ प्रतिशत, विकास बैंकले १५ प्रतिशत र फाइनान्स बैंकले १० प्रतिशत लगानी गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि, वाणिज्य बैंकहरुले उत्पादनशील क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने थियो । २० प्रतिशत नै लगानी पुर्याउन नसकेका बैंकहरुलाई कर्जा सीमा बढाएर २५ प्रतिशत बनाइएपछि प्राथमिकताकै क्षेत्रभित्र पनि फाइदा हुने क्षेत्र खोजेर बैंकहरुले लगानी बढाउन थालेका छन् । 

होटल र पर्यटनमा बैंकिङ लगानी बढ्दै
पछिल्लो समय बैंकहरुको लगानी पर्यटन क्षेत्रमा बढिरहेको छ । पर्यटनअन्तर्गत पनि ठूलाठूला होटलहरुमा बैंकहरुले लगानी बढाउन थालेका छन् । पर्यटन क्षेत्रलाई बैंकहरुले मू्ख्य लगानीको क्षेत्र बनाइरहेका छन् । देशमा राजनीतिक वातावरण सुध्रिँदै गएपछि व्यवसायले गति लिने विश्वासका साथ पर्यटकीय सेवा दिने कम्पनीहरु खुल्ने क्रम बढेसँगै यो क्षेत्रमा लगानी गर्न बैंकहरु आकर्षित भएका हुन् । पाँचतारे होटलदेखि, रिसोर्ट, साना होटल, तथा रेस्टुराँहरू खुल्ने क्रम बढेसँगै बैंकहरूको लगानी पनि बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच वर्षमा बैंक तथा वित्तीय संस्थाको पर्यटन क्षेत्रमा प्रवाह हुने ऋण साढे तीन गुणाले वृद्धि भएको छ । ०७० जेठसम्म यस क्षेत्रमा बैंकहरूको लगानी १८ अर्ब मात्रै रहेकोमा ०७४ जेठसम्म आइपुग्दा यस्तो लगानी बढेर ६२ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये ४९ अर्ब ५१ करोड होटल व्यवसायमा र १२ अर्ब ५१ करोड रिसोर्ट, ¥याफ्टिङ, माउन्टेनिङ लगायतका व्यवसायमा लगानी भएको छ । पछिल्लो एक वर्षकै अवधिमा पर्यटन क्षेत्रमा १२ अर्ब रुपैयाँ बैंकिङ लगानी थपिएको छ । ०७३ जेठसम्म यस क्षेत्रमा बैंकिङ लगानी ५० अर्ब ४१ करोड रुपैयाँ थियो । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पर्यटन क्षेत्रमा कुल कर्जाको ५ प्रतिशत लगानी पुर्याउनुपर्ने निर्देशन दिएको छ ।

जलविद्युत् क्षेत्रमा पनि राम्रो बैंकिङ लगानी
सरकारी तवरबाट नै जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखिएपछि बैंकहरुले यस क्षेत्रमा समेत लगानी बढाउन थालेका छन् । ठूलाठूला जलविद्युत् आयोजनामा बैंकहरुले लगानी गर्न थालेका छन् । ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।कुल १८ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा रु दुई अर्ब २८ करोड लगानी हुने बताइएको छ । आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, विभोर विकास बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गरेका छन् । यस्ता थुप्रै जलविद्युत् आयोजनामा बैंकहरुले लगानी गर्न थालेका छन् । 

वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा गरी आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा अनिवार्य रुपमा २०७५ असारसम्ममा प्राथमिकता क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । विकास बैंक र वित्त कम्पनीहरुले समेत प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम क्रमशः १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, बैंकहरूले अझै राष्ट्र बैंकले तोकेको अनुपातमा उत्पादनशील क्षेत्रमा लगानी पुर्याउन सकेका छैनन् । बाणिज्य बैंकहरूले कुल कर्जाको २० प्रतिशत तोकिएका उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा ०७४ जेठसम्म १७.५ प्रतिशत मात्र लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।