Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा ब्रेक, एक अर्ब १७ करोडको कारोबार

२०७४ श्रावण ४ गते

साताको पहिलो दिनदेखि नै बढ्दो क्रममा रहेको सेयर बजारमा बुधबार ब्रेक लागेको छ । नेप्से परिसूचक १.१४ अंकले घटेर १६३७.२७ अंकमा कायम भएको छ । बीमा र होटल समूह क्रमशः ५१.९६ र १०.३४ अंकले बढेपनि बाँकी सबै समूह घटेपछि समग्र बजार नै प्रभावित भएको हो । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः २.७७, ४.७१, ३.१९, ७.०९, २.६४ र ०.५८ अंकले घटेका छन् । 

परिसूचक घटेपनि कारोबार रकममा भने खासै गिरावट आएको छैन । बुधबार पनि कारोबार रकमले एक अर्ब नाघेको छ । दिनभरिमा १५५ वटा कम्पनीको १६ लाख ८४ हजार ४१ कित्ता सेयर नौ हजार नौ सय २० पटक खरिदविक्री हुँदा एक अर्ब १७ करोड ६१ लाख आठ हजार एक सय ३८ रुपैयाँको कारोबार भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको कारोबारले सात करोड नाघेको छ भने नेशनल लाइफ इन्स्योरेन्सको झन्डै पाँच करोडको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नविल बैंक प्रोमोटरको तीन करोडमाथिको कारोबार हुँदा सानिमा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सानिमा माई हाइड्रो लगायतको दुई करोड ८० लाखमाथिको कारोबार भएको छ । 

अपि पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशतका दरले कमाएका छन् भने नेको इन्स्योरेन्स र हाम्रो विकास बैंकका सेयरधनीले क्रमशः ८.५९ र ७.०५ प्रतिशतले कमाएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स, हिमालयन डिस्टीलरी, जेविल्स फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, एनबि इन्स्योरेन्स कुबेर मर्चेन्ट फाइनान्स, बोटलर्स नेपाल लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिनर्जी फाइनान्सका सेयरधनीले ४.९०८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । पोखरा फाइनान्स, नेशनल हाइड्रो, अरुण काबेली पावर, एभरेष्ट बैंक(सीपी), जानकी फाइनान्स, एनएमबि हाइब्रिड फण्ड, नेपाल ग्रामीण विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, ओम डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।