नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजार ०.९० अंकले बढेर १५८३.५७ अंकमा पुगेको छ । बैंकिङ, फाइनान्स र बीमाले आइतबारको बजारलाई धानेका छन् । यी समूहहरु क्रमशः २.४१, १०.९३ र १.४८ अंकले बढेका छन् । होटल, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक र अन्य समूह क्रमशः ५.८२, ०.४४, ८.९१, ०.२१ र ५.५ अंकले घटेका छन् ।
दिनभरिमा १४९ वटा कम्पनीको १२ लाख ९४ हजार दुई सय ५९ कित्ता सेयर पाँच हजार सात सय ८८ पटक खरिदविक्री हुँदा ६८ करोड १२ लाख ६२ हजार पाँच सय २० रुपैयाँको कारोबार भएको छ । जसमध्ये, सूर्या लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयरको मात्रै २४ करोडमाथिको सेयर कारोबार भएको छ भने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको पाँच करोड ३५ लाखमाथिको कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्सको चार करोड ६५ लाखमाथिको कारोबार हुँदा सानिमा बैंक, जनता बैंक र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ भने एनसीसी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
कुबेर मर्चेन्ट फाइनान्सका सेयरधनीले ९.४९ प्रतिशतका दरले कमाउँदा अरुण फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सका सेयरधनीले क्रमशः ५.९४, ५.६२ र ५.०२ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स, नेशनल माइक्रोफाइनान्स, जनता बैंक, देवः विकास बैंक, नागरिक लगानी कोष, रिलायबल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको रिडी हाइड्रोका सेयरधनीले ७.३७ प्रतिशत र दिव्यश्वरी हाइड्रोका सेयरधनीले ७.०७ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा हाम्रो विकास बैैंकका सेयरधनीले ५.१२ प्रतिशतका दरले गुमाएका छन् । नयाँ नेपाल लघुवित्त, स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई समुन्नत स्किम, सेञ्चुरी बैंक, सिभिल लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, पूर्णिमा विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


