July 10th, 2017

बैंकिङ प्रविधिको प्रयोग निराशाजनक, सुधारका लागि यस्तो छ राष्ट्र बैंकको नीति

बैंकबाट सेवा लिनेको संख्या झन्डै दुई करोड पुग्न लागेपनि बैंकिङ प्रविधिको प्रयोग भने निकै कमले गर्ने गरेको पाइएको छ । बैंकहरुले जारी गर्ने कार्डहरुमध्ये, सबैभन्दा धेरै डेबिट कार्डको प्रयोग हुने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । हालसम्म ५१ लाख आठ हजार वटा डेबिट कार्ड जारी गरिएको राष्ट्र बैंकको तथ्यांक छ । क्रेडिट कार्ड भने ६४ हजार वटा मात्रै जारी भएको छ । त्यस्तै, मोबाइल बैंकिङका ग्राहकहरुको संख्या २४ लाख २७ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या सात लाख ३५ हजार पुगेको छ । ०७३ चैत्र मसान्तसम्मको तथ्यांक अनुसार, बैंक तथा वित्तीय संस्थामा एक करोड ८८ लाख निक्षेप खाता रहेको छ भने कर्जा संख्या ११ लाख ८३ हजार पुगेको छ ।

बैंकिङ प्रविधिको प्रयोग बढाउन राष्ट्र बैंकको नीति
नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तार गर्न र भुक्तानी प्रणालीलाई सुरक्षित एवम् प्रभावकारी बनाउन फाइनान्सियल टेक्नोलोजीको प्रयोगलाई बढावा दिइने राष्ट्र बैंकले उल्लेख गरेको छ । फाइनान्सियल टेक्नोलोजी कारोबारको अनुगमन गर्न उपयुक्त किसिमको नियमन प्रविधि संयन्त्र निर्माणको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने लक्ष्य मौद्रिक नीतिले लिएको छ । राष्ट्र बैंकले यस्ता कारोबारहरुलाई प्रभावकारीरुपमा निगरानी गर्ने समेत उल्लेख गरेको छ । 

त्यस्तै आगामी आर्थिक वर्षमा राष्ट्र बैंकले मोबाइल फोनमार्फत् हुने वित्तीय कारोबार (मोबाइलवालेट) लगायतका दूरसंचार सञ्जालमार्फत् हुने कारोबारका लागि राष्ट्रिय भुक्तानी स्वीच/द्धार स्थापनाको प्रकृया अगाडि बढाउने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा भुक्तानी एवम् फछ्र्यौटलाई थप प्रभावकारी र सुदृढ बनाउन राष्ट्रिय भुक्तानी स्वीच÷द्धार स्थापनाको प्रकृया अगाडि बढाइनुका साथै दूरसंचार सञ्जालमार्फत् हुने कारोबारलाई समेत यसमा समावेश गरिने उल्लेख गरिएको छ । 

यसका साथै राष्ट्र बैंकले बैंकिङ उपकरणहरुबाट समेत विदेशी मुद्रा सटही गर्नका लागि प्वाइन्ट अफ सेलमार्फत् सटही दिनसक्ने तथा भुक्तानी लिनसक्ने व्यवस्था गरेको छ ।तर यस्तो कारोबारको लागि निश्चित मापदण्ड पुरा गरेका इजाजत प्राप्त संस्था हुनुपर्ने व्यवस्था गरिएको छ । विदेशी नागरिकहरुले यो व्यवस्थाबाट सीधै प्वाइन्ट अफ सेल भएको स्थानबाट विभिन्न किसिमका सामाग्रीहरु खरिद गर्न तथा भुक्तानी गर्न सक्नेछन् । यस्तो व्यवस्थाले विदेशी नागरिकहरुले विदेशी मुद्रामा लिएका विभिन्न किसिमका डेविट, क्रेडिट कार्डको उपयोगीतालाई बढाउने अपेक्षा गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]