रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले आइतबारदेखि हकप्रद सेयर निष्काशन गरेका छन् । रिलायबलले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा र अल्पाइनले तीन बराबर दुई दशमलव शून्य आठको अनुपातमा हकप्रद सेयर जारी गरेका हुन् ।
रिलायबलले एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ८२ लाख ५० हजार बराबरको दुई लाख ८२ हजार ५ सय कित्ता हकप्रद निष्काशन गर्नेछ । संस्थाको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले सिभिल क्यापिटलको कार्यालय सुन्धारा, रिलायबल माइक्रोफाइनान्स र रिलायबल डेभलपमेन्ट बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साउन २९ गते सम्म खुला रहने हकप्रदमा असार १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, अल्पाइनले एक सय रुपैयाँ अंकित मूल्यमा १८ करोड तीन लाख २४ हजार सात सय रुपैयाँ बराबरको १८ लाख तीन हजार दुई सय ४७ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । बैंकको सेयर निष्कासन तथा विक्री प्रबन्धक प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा विक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, अल्पाईनको मुख्य शाखा कार्यालय हेटौडा मकवानपुर, साँगा काभ्रेपलाञ्चोक, नारायणगढ चितवनका साथै एनएमबी बैंकका उपत्यका भित्रका शाखा कार्यालयहरु सितापाईला, कलंकी, चाबहिल, बसुन्धारा, कुमारीपाटी, सुर्य्विनायक शाखाबाट हकप्रद भर्न सकिने जनाईएको छ । त्यस्तै एनएमबि बैंकको बनेपा, बुटवल, धरान, विराटनगर, सुर्खेत, पोखरा, धनगढी, नेपालगञ्ज, विरगञ्ज, जनकपुर र नारायणगढ शाखाबाट समेत दरखास्त बुझाउन सक्नेछन् ।
लमजुङ्गमा केन्द्रीय कार्यालय रहेको रिलायबलको हकप्रद निष्काशनपछि चुक्ता पूँजी आठ करोड ४७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । २६ करोड ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको अल्पाईनको चुक्तापुँजी हकप्रद सेयर विक्रीपश्चात ४४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।


