सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले गत जेठ ३० गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
हालै इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार सुरु गरेको बैंकले एक्विजिसनपछि कायम चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेञ्चुरीले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८८ लाख ५४ हजार दुई सय ५७ कित्ता हकप्रद जारी गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
हाल सेञ्चुरी कमर्सियल बैंकको चुक्तापुँजी चार अर्ब ७१ करोड रुपैयाँ रहेको छ । १० बराबर चारको अनुपातमा हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ५९ करोड रुपैयाँ नाघ्नेछ । आठ अर्ब चुक्तापुँजी पुर्याउने मिसनमा रहेको बैंकले सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्ससँग असार महिना भित्रै एकीकृत कारोबार सुरु गर्ने गरी एक्विजिसन प्रक्रिया अघि बढाएको छ । सम्पूर्ण प्राप्तीहरु हकप्रद तथा चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर बैंकले तोकिएको आठ अर्ब पुँजी सजिलै पुर्याउने छ ।


