क वर्गका दुई वटा बैंकहरुले हकप्रद निष्काशनमा नबिकेको सेयरलाई लिलामी बढाबढ गरी विक्री गर्ने भएका छन् । एनआईसी एसिया बैंक लिमिटेड र सिटिजन्स बैंक लिमिटेडले लिलामीमा सेयर विक्री गर्न लागेका हुन् ।
एनआईसी एशिया बैंकले सर्वसाधारण समूहतर्फको दुई लाख ९८ हजार पाँच सय ३६ कित्ता हकप्रद सेयर असार १ गतेदेखि लिलामीमा निकाल्दै छ । असार ८ गतेसम्म बोलपत्र पेश गर्न पाइने सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको छ । एक सय वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्ने बताइएको छ । कम्पनीको सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । एनआईसी एशियाले गत चैत १६ गतेदेखि वैशाख १९ गतेसम्म हकप्रद सेयर विक्री खुला गरी आवेदन माग गरेको थियो । सो क्रममा नबिकेको सेयरलाई बैंकले लिलामीमा निकाल्न लागेको हो । बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा सेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ ।
त्यस्तै, सिटिजन्स बैंकले संस्थापक समूहतर्फको एक लाख ९९ हजार तीन सय १३ कित्ता र सर्वसाधारण समूहतर्फको चार लाख २० हजार चार सय ९० कित्ता गरी छ लाख १९ हजार आठ सय तीन कित्ता सेयर असार १५ गतेदेखि लिलामीबाट बिक्री गर्दैछ । लिलाम सकार्न खोज्नेले असार २१ गतेसम्म सानिमा क्यापिटलमा आवेदन दिनु पर्ने हुन्छ । बोलपत्र असार २२ गते साढे तीन बजे सानिमा क्यापिटलको कार्यालय नक्सालमा खोलिने छ ।


