Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१५८०.५२ अंकमा झर्यो सेयर बजार, कारोबारमा उल्लेख्य गिरावट, २५ कम्पनीका सेयरधनीले कमाए

२०७४ जेष्ठ २९ गते

सोमबार सेयर बजार ९.९७ अंकको गिरावटसँगै १५८०.५२ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ८१.०६ अंकले घटेको छ । बैंकिङ, होटल, विकासक बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ७.४९, २८.९९, १२.९८, २३.३८, २.४, ७.३ र १.७३ अंकले घटेका छन् । 

कारोबार रकममा आइतबारको तुलनामा उल्लेख्य गिरावट आएको छ । दिनभरिमा १३८ वटा कम्पनीको सात लाख ९८ हजार छ सय १३ कित्ता सेयर छ हजार सात सय २३ पटक खरिदविक्री हुँदा जम्मा ४९ करोड ८८ लाख ९६ हजार तीन सय ५४ रुपैयाँ परिचालन  भएको छ । आइतबार नेप्से परिसूचक २४.७० अंकले घट्दा पनि ७१ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

सोमबार आरएसडीसी लघुवित्तको सबैभन्दा धेरै पाँच करोड ४४ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स र स्टान्डर्ड चार्टर्ड बैंकको क्रमशः तीन करोड ५७ लाख र तीन करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन जनरल इन्स्योरेन्स, एभरेष्ट बैंक, नविल बैंक, नेपाल बैंक, प्रभु बैंक र सानिमा बैंकको एक करोडमाथिको कारोबार भएको छ भने प्राइम लाइफ इन्स्योरेन्सको ९९ लाख रुपैयाँको कारोबार भएको छ ।

जम्मा २५ वटा कम्पनीका सेयरधनीले अधिकतम ९.५५८८ दखि न्युनतम ०.०६५१ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति बढाएका छन् । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै र साना किसान विकास बैंकका सेयरधनीले सबैभन्दा कम कमाएका हुन् । यसबाहेक, नेशनल माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, मञ्जुश्री फाइनान्स, किसान माइक्रोफाइनान्स, सिर्जना फाइनान्स, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, निर्धन उत्थान बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको एभरेष्ट बैंक(सीपी)का सेयरधनीले ९.४४७८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने तारागाउँ रिजेन्सीका सेयरधनीले ५.६३९१ प्रतिशतका दरले गुमँएका छन् । नयाँ नेपाल लघुवित्त, पूर्णिमा विकास बैंक, कन्काई विकास बैंक, अरुण भ्याली हाइड्रो, ग्रीन डेभलपकेन्ट बैंक, बरुण हाइड्रो, कञ्चन डेभलपमेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।