मंगलबार ३२ अंकले बढेर लगानीकर्तालाई बुर्लुक्कै उफारेको सेयर बजार बुधबार पुनः निराश पारको छ ।नेप्से परिसूचक १४.२४ अंकको गिरावटसँगै १६२३.१३ अंकमा कायम भएको छ । उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह ओरालो लागेका छन् । बीमा समूह सबैभन्दा धेरै ११५.७८ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १२.८४, ४०.३२, १८.२७, १९.१५, १.९५ र ०.२९ अंकले घटेका छन् । उत्पादनमूलक भने ९.६९ अंकले बढेको छ ।
परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १४९ वटा कम्पनीको १२ लाख ७९ हजार पाँच सय सात कित्ता सेयर आठ हजार ३८ पटक खरिदविक्री हुँदा ७६ करोड ४७ लाख ३६ हजार आठ सय ११ रुपैयाँ पुँजी परिचालन भएको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै नौ करोड ४१ लाख ७८ हजार तीन सय ८३ रुपैयाँको कारोबार भएको छ । सनराइज बैंकको चार करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ । एभरेष्ट बैंक र सिद्धार्थ इन्स्योरेन्सको एक करोड ८० लाख माथिको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको पौने दुई करोडमाथिको कारोबार भएको छ भने हिमालयन जनरल इन्स्योरेन्स, नविल बैंक, सिभिल बैंक, एभरेष्ट इन्स्योरेन्स लगायतको डेढ करोडमाथिको कारोबार भएको छ ।
आरएसडीसी लघुवित्तका सेयरधनीले बुधबार सबैभन्दा धेरै १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सेयरधनीले ९.७१ प्रतिशतका दरले कमाएका छन् । जम्मा १९ कम्पनीले कमाएकोमा मिथिला लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ६.९९, ६.५१ र ५.९८ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रो, एभरेष्ट इन्स्योरेन्स, बोटलर्स नेपाल, जेविल्स फाइनान्स, स्टान्डर्ड चार्टर्ड बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको विजय लघुवित्तका सेयरधनीले ५.८४४२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने सगरमाथा इन्स्योरेन्सका सेयरधनीले ५.७५१६ प्रतिशतका दरले गुमाएका छन् । मितेरी डेभलपमेन्ट बैंक, सिनर्जी पावर, मिसन डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, वरियन्टल होटल्स, देवः विकास बैंक, नविल व्यालेन्स फण्ड, राष्ट्रिय बीमा कम्पनी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



