बुटवल पावर कम्पनीले प्रतिकित्ता ५१८ रुपैयाँमा थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने प्रस्ताव गरेको छ । सोमबार बसेको संचालक समितिको बैठकले एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत ४१८ रुपैयाँ थपगरी ५१८ रुपैयाँमा एफपिओ निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो ।
यसअघि प्रिमियम सहित ४७० रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव गरिएकोमा पुनः नयाँ मूल्य प्रस्ताव गरिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार धितोपत्र मुल्याकंनकर्ताबाट प्राप्त सुझाबको आधारमा नयाँ मूल्य प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्दैछ । जसमध्ये, पाँच प्रतिशत अर्थात दुई लाख चार हजार ५० कित्ता सेयर आँधिखोला जलविद्युत केन्द्र र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई छुट्याइएको छ । कम्पनीले सेयर निष्काशन तथा विक्री बिक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेडले पाएका छन् ।
एफपिओबाट संकलित रकम निर्माणाधीन आयोजनामा लगानी गरिने बताइएको छ । कम्पनीले ३० मेगावाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषणा गरेको छ । यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । साथै बीपीसी एक सय मेगावाटको मनाङमस्र्याङ्दी आयोजनाको अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पूरा गरिसकेको छ ।


