रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ९.५ मे. वा. क्षमताको डाउन पिलुवा खोला साना जलविद्युत आयोजना निर्माणका लागि पुँजी जुटाउन सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा साधारण सेयर जारी गर्न लागेको हो ।
आईपिओ निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । रिभर फल्स पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले सोमबार सेयर निष्काशन तथा विक्री गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
रिभर फल्स पावरको जारी पूँजीमध्ये ४९ प्रतिशत अर्थात ३४,३०,००० कित्ता साधारण सेयर उद्योग प्रभावित संखुवासभा जिल्लाका स्थानीयबासिन्दा लगायत सर्वसाधारणहरु र कर्मचारीमा एनआईसी एसिया क्यापिटल मार्फत निष्काशन गरिने छ ।
प्रदेश नं १, संखुवासभा जिल्ला चैनपुर स्थित पिलुवाखोलामा ९.५ मे.वा. क्षमताको डाउन पिलुवाखोला साना जलविद्युत आयोजनामा सेञ्चुरी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको सहवित्तीयकरण कर्जा लगानी हुने सम्झौता सम्पन्न भइसकेकोे छ ।
निष्काशन तथा विक्रीप्रबन्धक संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । हालै एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।



