सोमबार सेयर बजार ८.८४ अंकले बढेर १६०२.६५ अंकमा पुगेको छ । फाइनान्सबाहेक सबै समूह बढेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह २१.६९ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, बीमा र अन्य समूह क्रमशः १०, ६.०७, १०.९, ७.२७, १५.१ र ४.६३ अंकले बढेका छन् । फाइनान्स भने सामान्य ०.९५ अंकले घटेको छ ।
कारोबार रकममा पनि आइतबारको तुलनामा सुधार आएको छ । दिनभरिमा १४९ वटा कम्पनीको १३ लाख ९१ हजार आठ सय ९० कित्ता सेयर छ हजार तीन सय ३६ पटक खरिदविक्री हुँदा ६२ करोड दुई लाख सात हजार आठ सय ९० रुपैयाँको कारोबार भएको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै छ करोड दुई लाख १८ हजार सात सय ९० रुपैयाँको कारोबार भएको छ भने एसियन लाइफ इन्स्योरेन्स प्रोमोटरको चार करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र सानिमा बैंकको दुई करोडमाथिको कारोबार हुँदा प्रिमियर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक र बैंक अफ काठमाण्डूको एक करोड ७० लाखमाथिको कारोबार भएको छ । सिद्धार्थ बैंक, नेपाल टेलिकम, गुराँस लाइफ इन्स्योरेन्स लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ ।
आरएसडीसी लघुवित्तका सेयरधनीले सोमबार ९.९९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र किसान माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ५.६२ र ५.०० प्रतिशतका दरले कमाएका छन् । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, देवः विकास बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, मञ्जुश्री फाइनान्स, वोमी माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिनर्जी फाइनान्सका सेयरधनीले ३.३१४९ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । गुडविल फाइनान्स, युनाइटेड फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, सिनर्जी पावर, स्वरोजगार लघुवित्त, बोटलर्स नेपाल, लक्ष्मी भ्यालु फण्ड, मिसन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



