साताको कारोबारको दुबै दिन दोहोरो अंकले घटेको सेयर बजार बुधबार दोहोरै अंकले बढेको छ । नेप्से परिसूचक १३.६८ अंकले बढेर १६०८.११ अंकमा पुग्दा कारोबार रकममा भने गिरावट आएको छ । दिनभरिमा १४४ वटा कम्पनीको ११ लाख ५३ हजार चार सय ९४ कित्ता सेयर छ हजार चार सय सात पटक खरिदविक्री हुँदा ६७ करोड ९३ लाख ५४ हजार ७२ रुपैयाँको कारोबार भएको छ ।
उत्पादनमूलकबाहेक सबै उपसूचक हरियो भएपछि समग्र परिसूचक नै हरियो भएको हो । बुधबार, बीमा समूह सबैभन्दा धेरै १२१.४१ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ९.४१, १९.९८, २०.९, १८.०७, १.३२ र ८.३९ अंकले बढेका छन् । उत्पादनमूलक भने ४.६१ अंकले घटेको छ ।
धेरै कारोबार हुने कम्पनीहरुको अग्रस्थानमा बुधबार स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ, जसको पाँच करोड ३९ लाख ३४ हजार तीन सय १९ रुपैयाँको कारोबार भएको छ । बैंक अफ काठमाण्डू, हिमालयन जनरल इन्स्योरेन्स, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने सिद्धार्थ बैंक, प्राइम बैंक, एनएमबि बैंक, शिखर इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स लगायतको डेढ करोडमाथिको कारोबार भएको छ ।
धेरै कमाउने कम्पनीहरुको अग्रस्थानमा भने ग्रीन डेभलपमेन्ट बैंक रहेको छ, जसका सेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन डिस्टीलरी, कर्णाली डेभलपमेन्ट बैंक र युनाइटेड मोदी हाइड्रोपावरका सेयरधनीले नौ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् भने आरएसडीसी लघुवित्त र भार्गव विकास बैंकका सेयरधनीले क्रमशः ८.११ र ७.५९ प्रतिशतका दरले कमाएका छन् । नेरुडे लघुवित्त, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
बुधबार जम्मा २३ कम्पनीका सेयरधनीले अधिकतम ४.७२ देखि न्यूनतम ०.२१ प्रतिशतसम्मका दरले गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा बोटलर्स नेपाल र थोरै गुमाउनेमा बैंक अफ काठमाण्डूका सेयरधनी छन् । यसबाहेक, गुहेश्वरी फाइनान्स, शिखर इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, जानकी फाइनान्स, एनआईबिएल प्रगति फण्ड, वरियन्टल होटल्स, एनएमबि हाइब्रिड फण्ड, प्रभु बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



