Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताभरमा सेयर बजार १४ अंकले घट्यो, चार दिनमा दुई अर्ब ६८ करोडको कारोबार

२०७४ जेष्ठ १२ गते

गत सातादेखि नै गिरावटको क्रममा रहेको सेयर बजारले यो साताको सुरुवात पनि गिरावटबाटै गर्यो । साताको पहिलो दुई दिन दोहोरो अंकले घटेको सेयर बजार प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने खबरसँगै मंगलबारदेखि बढ्न थाल्यो । मंगलबार दोहोरो अंकको वृद्धि हासिल गरेको सेयर बजारमा बुधबार पनि ३.०१ अंकको वृद्धि देखियो । यसरी गत साताको अन्तिम दिन १६४३.८७ अंकमा बन्द भएको सेयर बजार यो साताको अन्तिम दिन १६२९.५२ अंकमा छ । जसअनुसार, यो साता सेयर बजारमा १४.३५ अंकको गिरावट आएको हो ।

यो साता कारोबार रकममा पनि उतारचढाव देखियो । आइतबार ६८ करोडको कारोबार भएको बजारमा सोमबार ५२ करोड, मंगलबार ७८ करोड ६६ लाख र बुधबार साढे ६८  करोडको कारोबार भएको छ । समग्रमा यो साताभर दुई अर्ब ६८ करोड २२ लाख २५ हजार दुई सय ९४ रुपैयाँको सेयर कारोबार भएको छ । गत साता दुई अर्ब ५८ करोड १५ लाख ६१ हजार नौ सय २० रुपैयाँको कारोबार भएको थियो ।

नेपाल बैंक, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन जनरल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायतको यो साता राम्रो कारोबार भएको छ । हिमालयन डिस्टीलरी, आरएसडीसी लघुवित्त लगायतका सेयरधनीले कमाएका छन् भने बरुण हाइड्रो, स्टान्डर्ड चार्टर्ड बैंक लगायतका सेयरधनीले गुमाएका छन् ।

विहीबार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ भने जेठ १५ गते नै बजेट ल्याउने तयारी भइरहेको छ । एक चरणको स्थानीय चुनाव भर्खरै सकिएको मुलुकमा जेठ ३१ गते दोस्रो चरणको चुनाव गर्ने तयारी भइरहेको छ । पहिलो चरणको जस्तै सफलतापूर्वक दोस्रो चरणको चुनाव सम्पन्न हुने अपेक्षा गरिएको छ । राजनीतिको यस अवस्थाको बीचमा लगानीकर्ताहरु न त धेरै धेरै उत्साहित देखिएका छन्, न त धेरै निराश । बजारमा सामान्य घटबढ भइरहेको छ । दोस्रो चरणको चुनाव सम्पन्न नहुँदासम्म सेयर बजारमा यो पर्ख र हेरको क्रम नै चलिरहने अनुमान गरिएको छ ।