नेपाल धितोपत्र बोर्डबाट गत जेठ ४ गते हकप्रद निष्काशनको अनुमति पाएको पूर्णिमा विकास बैंक लिमिटेडले बुक क्लोज गर्ने मिति तय गरेको छ । बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि यही जेठ १६ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै पूर्णिमाले निष्काशन गर्न लागेको हकप्रद भर्न पाउनेछन् ।
पूर्णिमाले एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड ८० लाख ९६ हजार दुई सय ८२ रुपैयाँ बराबरको आठ लाख ८० हजार नौ सय ६२ दशमलव ८२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सिद्धिार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
हाल पूर्णिमा विकास बैंकको चुक्तापुँजी ३५ करोड रुपैयाँ छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्नो सेयरधनीलाई बोनस सेयर वितरण गरिसकेको छ ।


