Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीन बैंकको हकप्रद भर्ने भोली अन्तिम दिन, कस्को सेयर भर्न कहाँ जाने ?

२०७४ जेष्ठ ९ गते

हाल निष्काशन भइरहेको तीन बैंकको हकप्रद सेयर भर्ने भोली (जेठ १० गते) अन्तिम दिन रहेको छ । नेपाल बंगलादेश बैंक, नेपाल बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन बुधबार बन्द हुन लागेको हो । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको, नेपाल बैंकले १००ः२३.७४ को अनुपातमा र सिद्धार्थ डेभलपमेन्ट बैंकले ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेका छन् । 

कुन बैंकको हकप्रद भर्न कहाँ जाने ?
नेपाल बंगलादेश बैंकले बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब २० करोड ९४ लाख छ हजार आठ सय ८० रुपैयाँको तीन करोड २० लाख ९४ हजार ६८ दशमलव ८० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बैंकको सेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी, साथै काठमाडौं उपत्यका भित्र न्यूरोड, भैंसेपाटी, बिजुलीबजार, कालीमाटी, कुमारीपाटी, इमाडोल, सल्लाघारी, कपन, आकाशेधारा, बालाजु, जोरपाटी, ट्याङलाफाँट किर्तिपुर, र महाराजगञ्ज शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै उपत्यका बाहिर विराजटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, नारायाणघाट, बुटवल, धनगढी, बिर्तामोड, घोराही, जनकपुर, सुर्खेत, हेटौंडा, विराटचोक मोरङ, संक्रान्ती बजार तेह्रथुम, खलंगा बजार दार्चुला, सल्यान, भैरहवा, भोजपुर, धुन्चे रसुवा, महेन्द्रपथ धरान, बट्टारबजार नुवाकोट, कर्सिया मोरङ, गल्छी धादिङ, झल्हारी कञ्चनपुर, मुसिकोट रुकुम, फिदिम पाँचथर, खैरनि चितवन, चैनपुर बझाङ, कुस्मा पर्वत र खजुरा बाँके शाखाबाट आवेदन दिन सकिनेछ । 

त्यस्तै, नेपाल बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको हकप्रद गत चैत्र २८ गते सम्मका सेयरधनीले भर्न पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय सिटिसी महल, सुन्धारा र नेपाल बैंकको शाखा कार्यालयहरुबाट उक्त सेयरका लागि आवेदन दिन सकिने बताइएको छ ।

यता, सिद्धार्थले एक सय रुपैयाँ अंकित दरमा ८५ करोड १५ लाख पाँच सय ६० रुपैयाँ बराबरको ८५ लाख १५ हजार पाँच दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नारायणचौर र सिद्धार्थ डेभलपमेण्ट बैंकको सबै शाखा कार्यालयहरुबाट दिन सकिन्छ ।

कसको कति पुग्यो चुक्तापुँजी ?
गत वर्षको मुनाफाबाट ३२ प्रतिशत बोनस सेयर जारी गरेर नेपाल बंगलादेश बैंकले चुक्तापुँजी चार अर्ब एक करोड १७ लाख ५९ हजार रूपैयाँ पुर्याएको छ । यसबाट ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको पुँजी सात अर्ब २० करोड रुपैयाँ नाघ्नेछ । आगामी असार मसान्तसम्ममा यो बैंकले आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । 

त्यस्तै, हाल नेपाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ । 

जनता बैंकमा विलय हुन लागेको सिद्धार्थ डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ४१ करोड ९१ लाख रहेको रुपैयाँ छ । ६० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पुँजी दुई अर्ब २७ करोड नाघ्नेछ ।