माछापूछ्रे बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । १० बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि (जेठ ७ गते) नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको बैंकले जेठ १६ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकले निष्काशन गर्न लागेको हकप्रद भर्न पाउनेछन् ।
माछापूछ्रेले एक सय रुपैयाँ अंकित मूल्यमा ७९ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको ७९ लाख १८ हजार चार सय ४० कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हाल माछापूछ्रे बैंकको चुक्तापुँजी छ अर्ब ५९ करोड ८७ लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ३९ करोड पाँच लाख ४४ हजार रुपैयाँ पुग्नेछ ।


