Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

चुनावपछिको पहिलो साता सोचेजस्तो भएन नेप्से : १४.७१ अंकले परिसूचक घट्दा साढे दुई अर्बको कारोबार

२०७४ जेष्ठ ५ गते

पहिलो चरणको चुनावअघिको अन्तिम कारोबार सकारात्मक संकेत सहित बन्द भएको बजार चुनावपछिको पहिलो कारोबारमा भने खासै उत्साहजनक देखिएन । यसअघि विश्लेषकहरु चुनाव लगतै जेठको पहिलो सातामा सरकार परिर्वतन हुने र उद्धारबादी दलका रुपमा परिचित नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने चर्चाले बजार बढ्नु पर्ने अनुमान लगाएका थिए । तर, साता को पहिलो दिन सेयर बजार ०.६५ अंकले मात्रै बढ्यो । त्यसपछि साताभर सेयर बजारमा गिरावट देखियो । अन्ततः साताको अन्तिम दिन नेप्से परिसूचक १६४३.८७ अंकमा कायम भएको छ । गत साताको अन्तिम दिन १६५८.५८ अंकमा बन्द भएको सेयर बजार यो साताभरमा नेप्से १४.७१ अंकले घटेको हो । 

साताभरको कारोबार रकमलाई हेर्दा भने विस्तारै लगानीकर्ताको मनोबल फर्किन थालेको देखिन्छ । सोमबार साढे ६५ करोडको कारोबार भएको बजार मंगलबार साढे ५० करोडको कारोबार सीमित रह्यो । बुधबार र विहीबार भने क्रमशः ६१ करोड ९८ लाख र ७८ करोड १२ लाख रुपैयाँको कारोबार भयो । समग्रमा, साताभर दुई अर्ब ५८ करोड १५ लाख ६१ हजार नौ सय २० रुपैयाँको कारोबार भएको छ । 

कुनै पनि कम्पनीको अत्याधिक कारोबार नभएपनि हिमालयन जनरल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक लगायतको राम्रो कारोबार भएको छ । यो साता बोटलर्स नेपालका सेयरधनी मालामाल भएका छन् । साताको कारोबारको चारै दिन यो कम्पनीका सेयरधनीले उल्लेख्य रुपमा आफ्नो सम्पत्ति बढाएका छन् । त्यस्तै, मेरो माइक्रोफाइनान्स, सिनर्जी पावर लगायतका सेयरधनीले पनि राम्रै कमाई गरेका छन् ।  रिडी हाइड्रो, सप्तकोसी डेभलपमेन्ट बैंक,  दिव्यश्वरी हाइड्रो लगायतका सेयरधनीले भने गुमाएका छन् ।