सेन्ट्रल फाइनान्स लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले प्रस्ताव गरेको उक्त हकप्रद सेयर पारित गर्नका लागि कम्पनीले आगामी जेठ १९ गतेका लागि विशेष साधारणसभा डाकेको छ ।
साधारणसभा प्रयोजनका लागि सेन्ट्रलले आगामी जेठ १४ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने घोषणा गरेको छ । जसअनुसार, जेठ १३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीको साधारणसभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा हुँदैछ ।
भक्तपुर फाइनान्स लिमिटेडलाई मर्ज गरेको सेन्ट्रल फाइनान्सको चुक्तापुँजी ५२ करोड ६६ लाख रुपैयाँ पुगेको छ । उक्त पुँजीको ५० प्रतिशत हकप्रद जारी गरेपछि सेन्ट्रलको चुक्तापुँजी झन्डै ७९ करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, यो फाइनान्सले असार मसान्तभित्रमा ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ, जुन कम्पनीले चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर दिएर पुर्याउनेछ ।


