पहिलो चरणको चुनाव सफल रुपमा सम्पन्न भएसँगै सेयर बजारले सुधारको गति लिएको छ । साताको अन्तिम दिन सेयर बजार सामान्य ०.३९ अंकको गिरावटसँगै १६४३.८७ अंकमा कायम भएको छ । बैंकिङ र अन्य समूह क्रमशः ७.९४ र १.७४ अंकले घटेका छन् भने बाँकी सबै समूह बढेका छन् । सबैभन्दा धेरै होटल समूह ३५.७४ अंकले बढेको छ भने उत्पादनमूलक समूह ३५.११ अंकले बढेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स र बीमा क्रमशः १३.४८, २५.२८, ५.१९ र २९.१९ अंकले बढेका छन् ।
बजार सुधारिएपछि लगानीकर्ताको मनोबल पनि बढेको पाइएको छ । विहीबार कारोबार रकम बुधबारको तुलनामा बढेको छ । दिनभरिमा १४६ वटा कम्पनीको १२ लाख सात हजार छ सय नौ कित्ता सेयर पाँच हजार पाँच सय ४१ पटक खरिदविक्री हुँदा कुल ७८ करोड १२ लाख ६९ हजार आठ सय ८४ रुपैयाँ पुँजी परिचालन भएको छ ।
हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै सात करोड ४४ लाख ९९ हजार २१ रुपैयाँको कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र नेपाल लाइफ इन्स्योरेन्सको चार करोडमाथिको कारोबारम भएको छ । विहीबारदेखि नै सेयर कारोबार खुलेको जनता बैंकको तीन करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको दुई करोडमाथिको कारोबार हुँदा प्राइम लाइफ इन्स्योरेन्स, एनएमबि बैंक, नेशनल लाइफ इन्स्योरेन्स, सानिमा माइ हाइड्रो लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।
एनबि इन्स्योरेन्स र बोटलर्स नेपालका सेयरधनीले विहीबार १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा मेरो माइक्रोफाइनान्स र सिनर्जी पावरका सेयरधनीले क्रमशः ९.९६ र ९.८१ प्रतिशतका दरले कमाएका छन् भने देवः विकास बैंकका सेयरधनीले ५.३६ प्रतिशतका दरले कमाएका छन् । नेशनल माइक्रोफाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, सप्तकोसी डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, जनता बैंकका सेयरधनीले कारोबार खुलेकै दिन ७.८०३५ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, द्रिव्यश्वरी हाइड्रोका सेयरधनीले ६.८ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, सिनर्जी फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, रिडी हाइड्रो, सहारा विकास बैंक, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



