स्टाण्डर्ड चाटर्ड बैंक लिमिटेडको एफपिओ बाँडफाँड यही शुक्रबार गरिने भएको छ । बैंकले बिक्री गरेको २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ साधारण सेयरको बाँडफाँड शुक्रबार गर्न लागिएको बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । एफपीओ निष्काशन गरेको ५० दिनभित्र बाँडफाँड गरिसक्नुपर्ने नेपाल धितोपत्र बोर्डको निर्णयबमोजिम यसै साता एफपीओ बाँडफाँड गर्ने तयारी गरेको बताइएको छ ।
स्टान्डर्ड चार्टर्डले गत चैत १ गतेदेखि ४ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ विक्री गरेको थियो । उक्त एफपीओमा दुई लाख २५ हजारभन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार पाँच सय ४० रुपैयाँ बराबरको आवेदन दिएका थिए ।
एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख रुपैयाँ हुनेछ । यसैगरी, चार्टर्डको संस्थापक सेयरधनीहरुको सेयर स्वामित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ ।


