मंगलबार सेयर बजार ७.५५ अंकको वृद्धिसँगै १६५८.३३ अंकमा पुगेर बन्द भएको छ । बीमा समूहले मंगलबारको बजारलाई बढाउन मद्दत गरेको देखिन्छ । यो समूह मंगलबार ७९.०२ अंकले बढेको छ । यसबाहेक, विकास बैंक, बैंकिङ र जलविद्युत् समूह क्रमशः १६.४३, ६.८८ र ३.१६ अंकले बढेका छन् । होटल, फाइनान्स, उत्पादनमूलक र अन्य भने क्रमशः २८.८८, २.१७, ५.४६ र २.३२ अंकले घटेका छन् ।
दिनभरिमा १४३ वटा कम्पनीको १५ लाख ४८ हजार दुई सय ५२ कित्ता सेयर सात हजार ४३ पटक खरिदविक्री हुँदा कुल ९२ करोड ९० लाख ७३ हजार एक सय ३४ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल लाइफ इन्स्योरेन्सको चार करोड २९ लाख ९२ हजार एक सय पाँच रुपैयाँको कारोबार भएको छ भने नेपाल एसबिआई बैंकको तीन करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सिभिल बैंक प्रोमोटर, एनसीसी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, हिमालयन जेनेरल इन्स्योरेन्स लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।
वोमी माइक्रोफाइनान्सका सेयरधनीले मंगलबार १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने नयाँ नेपाल लघुवित्तका सेयरधनीले ९.९८ प्रतिशतका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तले क्रमशः ८.९ र ८.०२ प्रतिशतका दरले सम्पत्ति बढाउँदा कैलाश विकास बैंक र महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ६.२० र ६.०५ प्रतिशतका दरले कमाएका छन् । किसान माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स र नागबेली लघुवित्तका सेयरधनीले पाँच प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको ग्रीन डेभलमपेन्ट बैंकका सेयरधनीले ५.१८५२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा माउन्ट मकालु डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, पूर्णिमा विकास बैंक, अरुण भ्याली हाइड्रो र दिव्यश्वरी हाइड्रोका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् भने तिनाउ डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, बोटलर्स नेपाल लगायतका सेयरधनीले दुई प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।


