तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । धितोपत्र बोर्डले तिनाउलाई सोमबार (चैत्र २८ गते) हकप्रद निष्काशनको अनुमति दिएको हो । बैंकले ३५ प्रतिशत अर्थात १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको थियो ।
तिनाउले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार छ सय नौ रुपैयाँ बराबरको ११ लाख ९४ हजार सात सय ९६ दशमलव ०९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
हाल तिनाउ डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३४ करोड १३ लाख ७० हजार पाँच सय रुपैयाँ रहेको छ । ३५ प्रतिशत हकप्रद सेयर जारी गरेपश्चात् बैंकको चुक्तापुँजी ४६ करोड आठ लाख ५० हजार एक सय रुपैयाँ पुग्नेछ ।


