आर्थिक वर्ष २०७४ को ८ महिनासम्ममा उपलव्ध समष्टिगत आर्थिक तथा वित्तीय परिसूचकहरुलाई आधार मान्दा नेपाली अर्थतन्त्रको परिदृष्य मिश्रित रहने देखिएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै यस्तो बताएको हो । कृषिमा अपेक्षा गरिएको भन्दा वृद्धि, उर्जा आपूर्तिमा सुधार र निर्माण तथा पुनर्निर्माण कार्यले लिएको गतिका कारण आशाजनक आर्थिक वृद्धिको परिदृष्य देखिएको राष्ट्र बैंकको तर्क छ ।
आर्थिक वृद्धि प्रक्षेपित मार्गमा र मुद्रास्फीति प्रक्षेपित भन्दा न्यून रही समष्टिगत आर्थिक परिदृष्य सकारात्मक रहने राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको फागुन मसान्तमा उपभोक्ता मुद्रास्फीति २.९ प्रतिशतमा कायम भएको छ । गत आर्थिक वर्षको फागुनमा यस्तो मुद्रास्फीति १०.२ प्रतिशत रहेको थियो । गत वर्षको आधार मूल्यको प्रभाव तथा समीक्षा अवधिमा आपूर्ति व्यवस्थामा आएको सुधारका कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति घट्दै आएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले भनेको छ, ‘मुद्रास्फीतिको चापमा आएको सहजताले निरन्तरता पाएको छ । परिणामतः आर्थिक वर्ष २०७४ मा मुल्य वृद्धिको चापमा सहजता रहनेर प्रक्षेपित वार्षिक लक्ष्य ७.५ प्रतिशत भन्दा मुद्रास्फीति कम हुन सक्ने देखिन्छ ।’
हालैका महिनाहरुमा सिर्जित वित्तीय घर्षणले गर्दा वित्तीय क्षेत्रमा भने केही क्षणिक असहजता रहेको राष्ट्र बैंकले जनाएको छ । निक्षेपको भन्दा कर्जाको विस्तार अधिक रहेका कारण विगत केही महिनादेखि वित्तीय क्षेत्रमा देखिएको असन्तुलनको अवस्थामा हाल केही सुधार देखिएको राष्ट्र बैंकको दाबी छ । कर्जा प्रवाह बढ्न थालेतापनि सामान्य तहमा पुनरस्थापित हुन अझै केही समय लाग्ने बताइएको छ । पूँजीगत खर्चले गति लिन थालेपछि कर्जा प्रवाहले पनि सामान्य तहमा पुनरगति लिने अपेक्षा गरिएको छ । त्यस्तै, वित्तीय क्षेत्रमा हाल पर्याप्त मात्रामा तरलता रहेको जानकारी राष्ट्र बैंकले दिएको छ ।


