मंगलबार पाँच प्रतिशतले बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २२.५७ अंकले घटेर १५८८.०५ अंकमा कायम भएको छ । यद्यपि, कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ । मंगलबार एक अर्ब ३८ करोडको कारोबार भएको बजारमा बुधबार दुई अर्ब ५२ करोड ४९ लाख १५ हजार नौ सय ९९ रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १४९ वटा कम्पनीको ४९ लाख ८५ हजार आठ सय ५३ कित्ता सेयर १४ हजार सात सय ८६ पटक खरिदविक्री भएका छन् ।
बुधबार व्यापार समूहबाहेक कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १५२.८५ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः २०.६५, ६६.२७, १६.८५, ७१.२६, १२.०९, १.७६ र १.४४ अंकले घटेका छन् । व्यापार समूह भने १.६८ अंकले बढेको छ ।
कारोबारका आधारमा बुधबार नेपाल बंगलादेश बैंकको प्रोमोटर सेयर अग्रस्थानमा रहेको छ, जसको ३८ करोड छ लाख नौ हजार आठ सय सात रुपैयाँको कारोबार भएको छ भने नेपाल बंगलादेश बैंकको साढे १९ करोडभनदा बढीको सेयर कारोबार भएको छ । नेपाल बैंकको नौ करोड ९४ लाख र सानिमा बैंकको नौ करोड ५४ लाखको कारोबार भएको छ भने एनसीसी बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक र प्रभु बैंकको छ करोडमाथिको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको पाँच करोड र एभरेष्ट बैंकको चार करोडमाथिको कारोबार भएको छ ।
सबैभन्दा धेरै कारोबार भएको नेपाल बंगलादेश बैंकका प्रोमोटर सेयरधनीले नै १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । राष्ट्रिय बीमा कम्पनी, रिडि हाइड्रो, आईएलएफसीओ माइक्रोफाइनान्स, नेपाल ग्रामीण विकास बैंक र कृषि विकास बैंकका सेयरधनीले क्रमशः ८.२१, ७.४५, ७.०६, ६.४५ र ६.३८ प्रतिशतका दरले गुमाएका छन् । अपि पावर कम्पनी, सिनर्जी फाइनान्स, हाम्रो विकास बैंक, नेरुडे लघुवित्त लगायतका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।
कन्काई विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.०९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा सिन्धु विकास बैंकका सेयरधनीले ८.५३ र नमस्ते वित्तीय संस्थाका सेयरधनीले ६.२५ प्रतिशतका दरले कमाएका छन् । भार्गव विकास बैंक, बरुण हाइड्रो, साझा विकास बैंक, ललितपूर फाइनान्स र साल्ट ट्रेडिङका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीले कमाएका छन् भने आरएसडीसी लघुवित्त, सगरमाथा इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।



