नेपाल राष्ट्र बैंकले प्रतिबन्धित भारु नोट सटहीबारे भारतले गरेको प्रस्ताव अस्वीकार गरेको छ । भारतले ठूला दरका भारुमा लामो समयदेखि प्रतिबन्ध लगाएसँगै नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म भारु सटही गरिदिन पटक–पटक पहल गर्दै आएको थियो । तर, भारतीय पक्षले प्रतिव्यक्ति ४५ सय भारुमात्रै साट्न प्रस्ताव गरेपछि राष्ट्र बैंकले सो प्रस्ताव अस्वीकार गरेको हो । भारतले आफ्ना नागरिकलाई ४५ सय भारुसम्ममात्रै सटही व्यवस्था गरेको जिकिर गर्दै नेपाललाई पनि ४५ सय भारु सटहीको व्यवस्था स्वीकार गर्न प्रस्ताव गरेको हो ।
भारतीय रिजर्ब बैंककी कार्यकारी निर्देशक दिपाली पन्त जोशीसहितको भारतीय टोलीले आइतबार राष्ट्र बैंकका अधिकारीहरुसँगको छलफलमा ४५ सय भारुसम्ममात्रै साट्ने प्रस्ताव गरेर फर्किसकेको छ । भारतीय पक्षसँगको वार्तापछि आन्तरिक छलफल गरेको राष्ट्र बैंकले भारतको सो प्रस्ताव अस्वीकार गर्ने भएको हो । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले प्रतिव्यक्ति ४५ सय भारुमात्रै साट्ने प्रस्ताव मान्य नहुने बताए । एक जना नेपालीले २५ हजारसम्म भारु बोक्न पाउने प्रावधान भारतसँगकै सहमतिमा तयार गरिएकाले भारु नोट प्रतिबन्धपछि २५ हजारसम्म साटिदिनु भारतको नैतिक दायित्व भएको शिवाकोटीले बताए । उनले अब नोट सटहीबारे तत्काल भारतसँग कुनै पनि सम्झौता नहुने स्पष्ट पारे ।
आफुहरुले २५ हजार भारु साटिदिन स्पष्ट कारणसहित लिखित पत्र भारतलाई बुझाएको भन्दै डेपुटी गभर्नर शिवाकोटीले भारतले पनि त्यस्तै पत्रमार्फत स्पष्ट कारण खुलाएर पत्रको जवाफ पठाउनुपर्ने बताए । भारतीय पक्षबाट निराशाजनक जवाफ पाएपछि राष्ट्र बैंक अब सरकारको रायको अपेक्षामा रहेको पनि उनले उल्लेख गरे । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था तथा मनी चेन्जर कम्पनीहरूसँग ५ सय र हजार दरका भारु करीब ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । त्यसभन्दा बाहिर सर्वसाधारणसँग पनि ठूलो परिमाणमा भारु रहेको बताइएको छ ।


