नेपाल राष्ट्र बैंकले १० अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण उठाउने उद्देश्यले तीन प्रकारका ट्रेजरी बिल विक्री गर्न लागेको हो । राष्ट्र बैंकले अगाडी जारी भएका ट्रेजरी बिललाई रिन्यु गरी जारी गर्न लागेको जानकरी दिएको छ । चैत्र ८ गते मंगलबार निष्काशन गरिने ट्रेजरी बिल खरिद गर्नका लागि ७ गते अपरान्ह ३ बजेभित्रमा शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।
राष्ट्र बैंकले सिरियल नं. १३३९ को ९१ दिने अवधिको आठ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ, जुन आगामी असार ६ गते परिपक्व हुनेछ । त्यस्तै, ३३१ए लाई रिन्यू गरि ५० करोड रुपैयाँको १२८ दिने अवधिको ट्रेजरी बिल जारी गरिनेछ, जुन असोज १० गते परिपक्व हुनेछ । त्यस्तै, १३५२ ए लाई रिन्यू गरि विक्री गरिने ३६४ दिने अवधिको एक अर्ब ८० करोड रुपैयाँको ट्रेजरी बिल आगामी चैत्र ६ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले यसअघि गत सोमबार ९१ दिने अवधिको दुई अर्ब ५० करोड र १८२ दिने अवधिको ५० करोड गरी तीन अर्ब रुपैयाँको ट्रेजरी बिल विक्रि गरेको थियो ।


