चैत्र १६ गतेसम्म कायम सेयरधनीले मात्रै नेपाल बंगलादेश (एनबि) बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । बैंकले हकप्रद प्रयोजनका लागि चैत्र १७ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।
एनबि बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि बैंकले गत फागुन १७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरमा तीन अर्ब २० करोड ९४ लाख ६ हजार नौ सय रूपैयाँ बराबरको तीन करोड २० लाख ९४ हजार ६९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यो बैंकको सेयर निष्काशन तथा विक्रीको प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
गत वर्षको मुनाफाबाट ३२ प्रतिशत बोनस सेयर जारी गरेर बैंकले चुक्तापुँजी चार अर्ब एक करोड १७ लाख ५९ हजार रूपैयाँ पुर्याएको छ । यसबाट ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको पुँजी सात अर्ब २० करोड रुपैयाँ नाघ्नेछ ।


