बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकमका गिरावट आएको छ । नेप्से परिसूचक ९.०४ अंकले बढेर १३५६.१३ अंकमा पुग्दा कारोबार रकममा भने १६ करोडको गिरवाट देखिएको छ । मंगलबार ५२ करोड ८५ लाख रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३६ करोड ८९ लाख ८३ हजार एक सय ४३ रुपैयाँको मात्रै कारोबार भएको छ ।
१२६ वटा कम्पनीको आठ लाख ५५ हजार पाँच सय एक कित्ता सेयर तीन हजार नौ पटक खदिविक्री भएको बजारमा बुधबार कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह ६२.१५ अंकले बढेको छ भने बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य क्रमशः ७.६७, १४.४, ०.८८, ५.०३, ३७.१७, ३.०१ र ६.०७ अंकले बढेका छन् ।
कारोबार रकमका आधारमा बुधबार पनि नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर सेयर नै अग्रस्थानमा छ, जसको छ करोड ६१ लाख ४७ हजार पाँच सय ५० रुपैयाँको कारोबार भएको छ । एसियन लाइफ इन्स्योरेन्सको पौने चार करोडको कारोबार भएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको दुई करोड १८ लाख र सानिमा बैंकको एक करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंक, लक्ष्मी बैंक र राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको पनि एक करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, नेशनल हाइड्रो र नेपाल लाइफ इन्स्योरेन्सको क्रमशः ९३ लाख, ८९ लाख र ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेशनल हाइड्रोका सेयरधनीले बुधबार सबैभन्दा धेरै ९.४५ प्रतिशतका दरले कमाउँदा नयाँ नेपाल लघुवित्तका सेयरधनीले ८.०९ प्रतिशतका दरले कमाएका छन् भने बुटवल पावर कम्पनी, अपि पावर कम्पनी, सानिमा माई हाइड्रो, राप्तीभेरी विकास बैंक र तारागाउँ रिजेन्सीका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले आफ्नो सम्पत्ति बढाएका छन् । खानीखोला हाइड्रो, समिट माइक्रोफाइनान्स, मञ्जुश्री फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, ३७ वटा कम्पनीका सेयरधनीले अधिकतम ३.६१४५ प्रतिशतदेखि ०.०७६९ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सेती फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै र एसियन लाइफ इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा कम गुमाएका छन् । यसबाहेक, कञ्चन डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, साझा विकास बैंक, ङादी पावर ग्रुप, सप्तकोसी डेभलपमन्ट बैंक, सिर्जना फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।




