ओम डेभलपमेन्ट बैंक लिमिटेड र मनास्लु विकास बैंक लिमिटेडबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । चैत्र १ गते मंगलबार पोखरामा सम्पन्न ओम डेभलपमेन्ट बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको छ । मनास्लुले पनि मंगलबार नै सम्पन्न गरेको विशेष साधारणसभाबाट सो प्रस्ताव पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतामा बसेको साधारणसभाले मर्जरपछि चुक्तापुँजीबाट १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैैकले हकप्रद सेयर र चालु आ.ब.को मुनाफाबाट बोनस सयर जारी गरि असार मसान्तसम्मका दुई अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउने योजना बनाएको छ ।
२०७३ पौष मसान्तको वित्तीय विवरणको आधारमा मर्जरपछि बैंकको कुल निक्षेप १५ अर्ब २४ करोड, कर्जा १३ अर्ब २७ करोड, शाखा संख्या ४२ र ग्राहक संख्या एक लाख ७० हजार ग्राहकहरु पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए ।
हाल ओमको चुक्ता पूँजी एक अर्ब ३६ करोड र मनास्लुको चुक्ता पूँजी ३० करोड रुपैँया रहेको छ । मर्जर पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब ६४ करोड ३९ लाख रुपैँया पुग्नेछ । बैंकले प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पूँजी दुई अर्ब १३ करोड ७० लाख रुपैँया पुग्नेछ ।


