Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनआईसी एसिया बैंकले पायो हकप्रद निष्काशनको अनुमति

२०७३ फाल्गुन २४ गते

एनआईसी एसिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि मंगलबार (फागुन २४ गते) बोर्डबाट अनुमति पाएको हो । 

बैंकले एक सय रुपैयाँ अंकित दरमा ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको ८७ लाख २९ हजार चार सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनको अनुमतिका लागि बैंकले गत माघ ५ गते बोर्डमा आवेदन दिएको थियो । 

बैंकको २६ औँ वार्षिक साधारणसभाबाट पारित भएबमोजिम बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गरिने बताइएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । जसपश्चात् बैंकको चुक्तापुँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यसको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ भने प्रति सेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ५० पैसा छ ।