सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले जारी गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्न फागुन २५ गतेसम्मका बैंकको सेयर किनिसक्नुपर्ने भएको छ । बैंकले हकप्रद प्रयोजनका लागि फागुन २६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।
सिटिजन्स बैंकले २५ प्रतिशत अर्थात १० बराबर दुई दशमलव पाँचको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । सिटिजन्स बैंकले दशौं वार्षिक साधारण सभाबाट पारित भएबमोजित एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले गत फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
हाल सिटिजन्स बैंकको चुक्तापुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ पुग्नेछ । बैंकले हकप्रद बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रवन्धक नियुक्त गरिसकेको छ ।


