केही निरन्तर ओरालो लागेको बुधबार दोहोरो अंकले बढेको सेयर बजार विहीबार पनि दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.६१ अंकको वृद्धिसँगै १३२९.४१ अंकमा पुगेर बन्द भएको छ । परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बुधबार ३२ करोडको कारोबार भएको बजारमा विहीबार ४१ करोड ११ लाख २३ हजार चार रुपैयाँ पुँजी परिचालन भएको छ । दिनभरिमा १३४ वटा कम्पनीको नौ लाख २८ हजार दुई सय १० कित्ता सेयर चार हजार सात सय ७५ पटक खरिद विक्री भएका छन् ।
उत्पादनमूलक र अन्यबाहेक विहीबार कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै होटल समूह ११३.९६ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र बीमा क्रमशः ११.९१, १०.२४, २९.६१, ४.०९ र ९५.१३ अंकले बढेका छन् । कुल कारोबारमध्ये, कुमारी बैंकको मात्रै १० करोड ६९ लाख चार हजार चार सय एक रुपैयाँको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक र नेपाल लाइफ इन्स्योरेन्सको क्रमशः दुई करोड ९६ लाख र दुई करोड ७० लाखको कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक र लुम्बिनी जेनेरल इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्स, सिटिजन्स बैंक, सोल्टी होटल, सानिमा बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको क्रमशः ९७ लाख, ९२ लाख, ९० लाख, ८१ लाख र ७८ लाखको कारोबार भएको छ ।
सेती फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.७९ प्रतिशतका दरले कमाउँदा आरएसडीसी लघुवित्तका सेयरधनीले ९.७५ प्रतिशत र सोल्टी होटलका सेयरधनीले ९.७० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । बुटवल पावर कम्पनी, वोमी माइक्रोफाइनान्स, सगरमाथा इन्स्योरेन्स र ग्रीन डेभलमपेन्ट बैंकका सेयरधनीले क्रमशः ७.७९, ६.७६, ६.६७ र ५.६३ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त, मेरो माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, स्वरोजगार लघुवित्तका सेयरधनीले ५.६८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने किसान माइक्रोफाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, पोखरा फाइनान्स, जानकी फाइनान्स, कन्काई विकास बैंक, साझा विकास बैंक, जेविल्स फाइनान्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


