मंगलबार सेयर बजार १३.७२ अंकले घटेर १२९९.२९ अंकमा कायम भएको छ । परिसूचक झरेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार २५ करोडको कारोबार भएको बजारमा मंगलबार ५४ करोड ४५ लाख ५६ हजार चार सय ८६ रुपैयाँ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल बंगलादेश बैंकको मात्रै ११ करोड ४८ लाख १० हजार छ सय ४९ रुपैयाँको कारोबार भएको छ । महालक्ष्मी विकास बैंक र कुमारी बैंकको क्रमशः सात करोड र तीन करोडमाथिको कारोबार भएको छ भने शिखर इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ६० लाखमाथिको कारोबार भएको छ । सानिमा माइ हाइड्रो, नागरिक लगानी कोष, नविल बैंक प्रोमोटर र एभरेष्ट बैंकको एक करोडमाथिको कारोबार हुँदा नेपाल बैंकको ९८ लाखको कारोबार भएको छ ।
दिनभरिमा १३२ वटा कम्पनीको १२ लाख २९ हजार छ सय ५९ कित्ता सेयर चार हजार एक सय ४१ पटक खरिदविक्री भएको बजारमा जलविद्युत् र उत्पादनमूलक बाहेक कारोबार भएका सबै समूह घटेका छन् । बीमा समूह सबैभन्दा धेरै ११४.०७ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स र अन्य क्रमशः १३.५७, ५०.२५, ९.८५, ३.३६ र ४.३३ अंकले घटेका छन् । जलविद्युत् ४.८८ अंकले बढेको छ भने उत्पादनमूलक स्थिर रहेको छ ।
मंगलबार जम्मा २३ कम्पनीका सेयरधनीले अधिकतम ६.५८ देखि न्यूनतम ०.१२९४ प्रतिशतसम्मका दरले कमाएका छन् । नेरुडे लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् भने नागरिक लगानी कोषका सेयरधनीले सबैभन्दा कम कमाएका छन् । नेशनल हाइड्रो, सहारा विकास बैंक, हाम्रो विकास बैंक, पूर्णिमा विकास बैंक, गुडविल फाइनान्स, ज्योति विकास बैंक, बुटवल पावर कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त, तिनाउ विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिन्धु विकास बैंकका सेयरधनीले ९.७७ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । रिलायबल माइक्रोफाइनान्स र सिनर्जी फाइनान्सका सेयरधनीले क्रमशः ७.६४ र ६.०६ प्रतिशतका दरले गुमाएका छन् भने गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वोमी माइक्रोफाइनानस, तारागाउँ रिजेन्सी, कञ्चन डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्सका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।


