गत सातादेखि नै गिरावटको क्रममा रहेको सेयर बजारले यो साताको सुरुवात पनि गिरावटबाटै गरेको छ । आइतबार नेप्से परिसूचक २४.४५ अंकले घटेर १३१३.०१ अंकमा कायम भएको छ । बजार घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । अघिल्लो दिन ३० करोडको कारोबार भएको बजार आइतबार २५ करोड ६९ लाख ४२ हजार ८७ रुपैयाँको कारोबारमा सीमित भएको छ ।
१३२ वटा कम्पनीको पाँच लाख १२ हजार छ सय ३० कित्ता सेयर तीन हजार दुई सय सात पटक खरिदविक्री भएको बजारमा सबै उपसूचकहरु ओरालो लागेका छन् । बीमा सबैभन्दा धेरै १६८.८६ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः १८.१८, २९.१२, ७.९९, २६.७८, ८.३३, १.२९ र ४१.०७ अंकले घटेका छन् ।
कारोबारका आधारमा आइतबार कुमारी बैंक अग्रस्थानमा छ, जसको तीन करोड २४ लाख १२ हजार दुई सय ८५ रुपैयाँको कारोबार भएको छ । बैंकको २१ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रदले केही हदसम्म लगानीकर्तालाई आकर्षित गरेको हो । यसबाहेक, नेपाल इन्भेष्टमेन्ट बैंक, शिखर इन्स्योरेन्स र एभरेष्ट बैंकको सेयर कारोबारले एक करोड नाघेको छ । नविल बैंक प्रोमोटर, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी, नेपाल बैंक, चिलिमे हाइड्रो र नागरिक लगानी कोषको क्रमशः ९४ लाख, ९३ लाख, ९० लाख, ८७ लाख, ७९ लाख र ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बजारमा गिरावट आउँदा पनि १७ वटा कम्पनीका लगानीकर्ता भाग्यमानी ठहरिएका छन् । सहारा विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.९४ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा मिसन डेभलपमेन्ट बैंक र आरएसडीसी लघुवित्तका सेयरधनीले क्रमशः ५.७८ र ५.५२ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, मञ्जुश्री फाइनान्स, मेरो माइक्रोफाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, कुमारी बैंक, सगरमाथा फाइनान्स, सानिमा माइ हाइड्रो, रिलायबल माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी, स्टान्डर्ड चार्टर्ड बैंक, सेती फाइनान्स, नविल इक्विटी फण्ड, दिव्यश्वरी हाइड्रो र नेपाल एसबीआई बैंकका सेयरधनीले पनि कमाएका छन् ।
यता, सिन्धु विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ६.६८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने नेपाल टेलिकमका सेयरधनीले ६.४८ प्रतिशतका दरले गुमाएका छन् । सिद्धार्थ इन्स्योरेन्स, एनएमबी माइक्रोफाइनान्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र नेरुडे लघुवित्तका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । तिनाउ डेभलपमेन्ट बैंक, एसियन लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



