February 25th, 2017

सुदूरपश्चिममा वित्तीय जागरणको शुभारम्भ : बैंकिङ कर्जाबाट उद्यमी बन्न गभर्नरको आग्रह

कैलाली । सुदुर पश्चिमाञ्चलमा ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ सुरु भएको छ । कैलाली जिल्लाको अत्तरीया नगरपालिकास्थित एक विद्यालयमा आयोजित एक सामारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले अभियानको उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले वित्तीय साक्षरता बढाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न सबैलाई आग्रह गरे । सुदूरपश्चिमका विभिन्न जिल्लाका ग्रामिण इलाकामा बैंक तथा वित्तीय संस्थाको उपस्थिति अझै बलियो नरहेकोतर्फ इंगित गर्दै उनले भने, ‘तपाईहरु त्यस्ता ग्रामिण क्षेत्रमा जानुस्, त्यसो गर्दा वित्तीय साक्षरता पनि बढ्छ ।’

उनले वित्तीय साक्षरता अभियान पूरा मुलुककै अभियान भएको जिकिर गरे । छिमेकी भारतको उदाहरण दिँदै गभर्नर नेपालले यहाँ पनि बढीभन्दा बढी जनसंख्यालाई वित्तीय पहुँचमा ल्याउन सरकारले एक घर एक खाता योजना अघि सारेको बताए । सदूरपश्चिम पनि विकासको खुड्कीलो चढ्दै गरेको भन्दै उनले अब विदेश नगई स्वदेशी माटोमा पैसा खोज्न युवाहरुलाई आह्वान समेत गरे । ‘यहाँ केही छैन भन्दै तपाईहरु विदेशिएपछि तपाईको ठाउँचाहिँ कसले बनाइदिन्छ ?’ उनले युवाहरुतर्फ इंगित गर्दै प्रश्न गरे, ‘तपाई त विदेश जानुहोला र आफ्नो दूनो सोझ्याउनुहोला तर तपाईका सन्तानलाई फेरी भोलि विदेश जान नपर्ने वातावरण बनाउनको लागि तपाईले यही माटोमा पैसा खोज्नुपर्छ, यहीँ छ प्रशस्त सम्भावना र अवसर ।’ पैसाको महत्व र यसको परिचालनबारे थाहा नपाएकाले नेपालीहरुले दुख पाएको भन्दै उनले आफ्ना सन्तानलाई सानैदेखि पैसाको बारेमा जानकारी गराउने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक काम गर्न पैसा दिइरहेकाले त्यसको सदुपयोग गर्न गभर्नर नेपालले सबैलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापाले वित्तीय साक्षरता बढाउनु अहिलेको अवश्यकता भएकाले वित्तीय जागरण अभियानको विशेष अर्थ हुने बताए । हाल सुदूरपश्चिममा २०३ वटा बैंक तथा वित्तीय संस्थाका शाखा रहेको जानकारी दिँदै उनले ती संस्थालाई वित्तीय साक्षरता बढाउने खालका कार्यक्रम संचालन गर्न सुझाव पनि दिए । नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक गुरु पौडेलले बैंक तथा वित्तीय संस्थासँग कारोबार फाइदा र सुरक्षा दुवै रहेको बताए । अब गोजीमा वा सिरानीमा पैसा राख्ने जमान गएको भन्दै उनले बैंक तथा वित्तीय संस्थासँग कारोबार नगरेकाले कारोबार गर्न आह्वान गरे ।
वित्तीय जागरण राष्ट्रिय अभियानका बैंकिङ पार्टनरको रुपमा रहेको एनआइसी एशिया बैंकका सीईओ लक्ष्मण रिसालले बैंक बुझेर यसमा कारोबार गर्ने मानिस समृद्धितर्फ उन्मुख हुने बताए । बैंकहरु नागरिककै हितमा हुने भएकाले यस्ता संस्थामा कारोबार गर्ने इमान्दार सेवाग्राहीहरुलाई कहिले घाटा नहुने उनको भनाई थियो । विकसित मुलुकहरुमा मानिसहरुले हरेक कारोबार बैंक तथा वित्तीय संस्थाकै माध्यमबाट गर्ने भन्दै उनले नेपालमा पनि त्यस्तै परिपाटीको विकास गराउन वित्तीय जागरण राष्ट्रिय अभियानको आवश्यकता भएको जिकिर गरे ।

डेभलपमेण्ट बैंकर्स एसोसियसनका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पौडेलले नेपालको बैंकिङ क्षेत्रमा अहिले वित्तीय साक्षरताको कमी हुनु नै एउटा मुख्य चुनौति रहेको बताए । ‘वित्तीय साक्षरताका लागि चलाइएको यस राष्ट्रिय अभियानमा म विकास बैंकर्स संघको उपाध्यक्षका हैसियतले हाम्रो संघ र बैंकबाट सबै किसिमको सहयोग गर्न तयार रहेको कुरा जानकारी गराउन चाहान्छु ।’ उनले भने ।  

मिडिया इन्टरनेसनलका अध्यक्षसमेत रहेका कार्यक्रम संयोजक माधव निर्दोषले सम्भावना र अवसर नेपालमै भएकाले स्वदेशमै उद्यमशील बन्नुपर्नेमा जोड दिए । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर त्यसको सदुपयोग गर्न सके यहीँ उद्यमशील बन्न सकिने उनले बताए । नेपालमा वित्तीय जागरण फैल्याउन सके चाँडै समृद्ध नेपाल बन्ने उनको भनाई थियो ।

कार्यक्रमको अवसर पारेर मिडिया इन्टरनेसनल र एनआइसी एशिया बैंकको सहकार्यमा प्रकाशन गरिएको वित्तीय साक्षरतासम्बन्धी पुस्तकको दोश्रो संस्करण पनि गभर्नर नेपालमार्फत बिमोचन गरिएको थियो ।

यस्तै एनआइसी एसिया बैंकले बिपन्न कर्जाअन्तर्गत चार लाख रुपैयाँ कर्जा स्वीकृत गरी त्यसको चेक स्थानीय कुमारी दमाईलाई गभर्नर नेपालमार्फत वितरण गरियो ।

कार्यक्रमअघि अत्तरियास्थित दुर्गालक्ष्मी उच्च माविको प्राङगणदेखि र्याली सुरु गरी अत्तरीयाको मुख्य बजार परिक्रमा गरिएको थियो । झण्डै पाँच हजारको उपस्थिति रहेको कार्यक्रममा केही सांस्कृति प्रस्तुति समेत राखिएको थियो । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशीलतामा लागेका व्यक्तिहरुलाई उदाहरणका रुपमा प्रस्तुत गरी बैंक तथा वित्तीय संस्थाको महत्व र त्यसबाट लिन सकिने फाइदाबारे सर्वसाधरणलाई अवगत गराइएको थियो । त्यस्तै पैसा के हो, यसको परिचालन कसरी गर्ने, बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दाका फाइदाबारे पनि सूचनामूलक स्टलमार्फत जानकारी पनि गराइएको थियो । नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको कार्यक्रमलाई वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकहरुको छाता संगठन नेपाल डेभलपमेण्ट बैंकर्स एसोसियसन र लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन माइक्रोफाइनान्स बैंकर्स एसोसियसन अफ नेपालले पनि साथ दिएका छन् ।

नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको र अझै पनि झण्डै २० प्रतिशत नागरिक साहू महाजनसँग नै कारोबार गरिरहेको तथ्यका बीच मिडिया इन्टरनेसनले गर्न लागेको यस कार्यक्रमले वित्तीय साक्षरता बढाउन निकै महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]