आइतबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै बढ्दो क्रममा रहेको बजार अन्ततः २५.५० अंकको वृद्धिसँगै १३६९.३५ अंकमा पुगेर बन्द भएको हो । होटल र उत्पादनमूलक बाहेक आइतबार कारोबार भएका सबै समूह हरियो भएका छन् । सबैभन्दा धेरै बीमा समूह २९५.९७ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १४.१९, २९.६९, ५.३६, २०.८५ र २४.५८ अंकले बढेका छन् । होटल र उत्पादनमूलक भने क्रमशः १९.२२ र ३.४९ अंकले घटेका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सुधार देखिएको छ । गत विहीबार ६५ करोडको कारोबार भएको बजारमा आइतबार ६६ करोड ६५ लाख ८७ हजार ६२ रुपैयाँ पुँजी परिचालन भएको छ । दिनभरिमा १४४ वटा कम्पनीको २० लाख ७७ हजार पाँच सय ५६ कित्ता सेयर छ हजार आठ सय २१ पटक खरिदविक्री भएका छन् । कुल कारोबार मध्ये, बैंक अफ काठमाण्डू लुम्बिनीको तीन करोड १५ लाख ४५ हजार एक रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको पनि तीन करोडमाथिको कारोबार भएको छ । प्रभु बैंकको साढे दुई र शिखर इन्स्योरेन्सको दुई करोडको कारोबार भएको छ । सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, सानिमा माइ हाइड्रो, नेपाल बंगलादेश बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले आइतबार १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । एनबी इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, नेपाल इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट, गुराँस लाइफ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स र पूर्णिमा विकास बैंकका सेयरधनीले क्रमशः ९.९७, ९.९६, ९.९१, ९.८८, ९.८४, ९.४४, ९.२७, ९.२७ र ९.१२ प्रतिशतका दरले कमाएका छन् ।
३१ वटा कम्पनीका सेयरधनीले अधिकतम ९.८ प्रतिशतदेखि न्यूनतम ०.३२८९ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रो र सबैभन्दा कम कैलाश विकास बैंकका सेयरधनीले गुमाएका छन् । यसबाहेक, धेरै गुमाउने कम्पनीहरुमा गुडविल फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स लगायत छन् भने कम गुमाउनेमा सिद्धार्थ डेभलपमेन्ट बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, एनआईसी एसिया बैंक, देवः विकास बैंक, जलविद्युत् लगानी तथा विकास कोष, ज्योति विकास बैंक, युनियन फाइनान्स प्रोमोटर लगायत छन् ।


