आइतबार(माघ २३ गते) देखि नियमित कारोबार समयमा नै दश कित्ताधन्दा कमको सेयर खरिदविक्री गर्न पाइने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दोस्रो बजार कारोबार थप सहज बनाउन यस्तो व्यवस्था गरेको हो । नियमित समयमा हुने अडलट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था समेत मिलाइएको नेप्सेले जनाएको छ ।
यस अघि नियमित कारोबार समय आइतबारदेखि बिहीबारसम्म बिहान ११ देखि अपरान्ह ३ बजेसम्म All or Non (AON) बाहेकका अन्य अर्डरमा १० र १० ले गुणा जाने संख्याका धितोपत्र कारोबार हुँदै आएको थियो । यसरी अन्य किसिमका अर्डरमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा अर्डर क्यान्सिल हुने समस्या थियो । नेप्सेले गरेको नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास नेप्सेले लिएको छ ।
यसअघि शुक्रबार मात्रै १० कित्ताभन्दा कमको सेयर कारोबार हुने व्यवस्था थियो ।


