सोमबार ६५ अंकको पहिरो गएको सेयर बजार मंगलबार १६.९ अंकले बढेको छ । कारोबार सुरु भएको एक घण्टासम्म लगातार बढे १३३५ अंकसम्म पुगेको बजार अन्ततः १३२६.६० अंकमा बन्द भएको हो । बीमा र अन्य समूहबाहेक मंगलबार कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै होटल समूह १०९.७ अंकले बढेको छ । बैंकिङ, विकासक बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक क्रमशः २५.४४, ३.३२, १३.१५, ९.२ र १९.८२ अंकले बढेका छन् । बीमा र अन्य समूह भने क्रमशः २८.४२ र ०.२९ अंकले घटेका छन् ।
परिसूचक बढेपनि कारोबार रकम स्थिरजस्तै छ । सोमबार ५३ करोड ६६ लाखको कारोबार भएको बजारमा मंगलबार ५२ करोड ८५ लाख ८९ हजार नौ सय एक रुपैयाँ पुँजी परिचालन भएको छ । दिनभरिमा १३७ वटा कम्पनीको १६ लाख ४९ हजार सात सय ९८ कित्ता सेयर चार हजार तीन सय ९५ पटक खरिदविक्री भएका छन् ।
कुल कारोबारमध्ये, गरिमा विकास बैंकको प्रोमोटरको तीन करोड ६८ लाख ३२ हजार छ सय रुपैयाँको सेयर कारोबार भएको भने नेपाल टेलिकम, सिद्धार्थ बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरन्स र एसियन लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बुटवल पावर कम्पनी लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
सोल्टी होटलका सेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशतका दरले कमाउँदा श्रीराम सुगर मिल्सका सेयरधनीले ९.६२ प्रतिशतका दरले कमाएका छन् । कालिका माइक्रोक्रेडिट, सगरमाथा फाइनान्स, सेञ्चुरी कमर्सियल बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, देवः विकास बैंक र लक्ष्मी बैंकका सेयरधनीले क्रमशः ८.४३, ७.४४, ७.३३, ६.००, ५.८२ र ५.१५ प्रतिशतका दरले कमाएका छन् । मुक्तिनाथ विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशतका दरले गुमाएका छन् भने एनएमबि बैंकका प्रोमोटर सेयरधनीले ९.१७४३ प्रतिशतका दरले गुमाएका छन् । फस्र्ट माइक्रोफाइनान्स र सगरमाथा इन्स्योरेन्सका सेयरधनीले ७ प्रतिशत र एनएलजी इन्स्योरेन्सका सेयरधनीले ६ प्रतिशतका दरले गुमाएका छन् । सुर्या लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आईएलएफसीओ माइक्रोफाइनान्स, वोमी माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



