Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नवलपरासीको गैँडाकोटमा नयाँ लघुवित्त सञ्चालन, गभर्नरले गरे उद्घाटन

२०७३ माघ ९ गते

नवलपरासीको गैँडाकोट २ मा नयाँ लघुवित्त सञ्चालनमा आएको छ । नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर्ष, इन्जिनियर तथा ब्यापारीहरुको प्रवद्र्धनमा शुक्रबारदेखि इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड सञ्चालनमा आएको हो । लघुवित्त सेवाको माध्यमबाट समाजका विपन्न वर्गको जिवनस्तर उकास्ने उद्देश्यले स्थापित लघुवित्तको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले गरेका थिए । 

संस्थालाई सफलताको शुभकामना दिँदै गभर्नर डा. नेपालले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्रमा सहयोगी हातहरुको रुपमा हुनुपर्ने, वित्तीय पहुंच नपुगेको ठाउँमा जानुपर्ने र वित्तीय साक्षरता कार्यक्रममा लाग्नुपर्नेमा जोड दिएका थिए ।  

संस्थाको समुद्घाटन कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक भैरहवा शाखाका मुख्य ब्यबस्थापक रेवती प्रसाद नेपालले अझैपनि ३८ प्रतिशत जनता वित्तीय सेवाको पहुँचमा नभएकाले लघुवित्त संस्थाहरुले त्यसतर्फ कार्यक्रम बिस्तार गर्नुपर्नेमा जोड दिएका थिए । साथै, शाखाहरु बिस्तार गर्दा एकैपटक धेरै शाखाहरु नखोली क्रमशः खोल्नुपर्ने र कर्जा लगानीमा दुरुपयोग भए नभएको विचार गर्न संस्थालाई निर्देशन समेत दिएका थिए । 

संस्थामा नेपाल सरकारका पुर्व सचिब खेमराज नेपाल अध्यक्ष छन् भने प्रमुख कार्यकारी अधिकृतमा केशव कुमार पौडेल छन् । संस्थाले छिटै नै  कम्तीमा १० वटा शाखाहरु खोल्ने र क्रमशः थप शाखाहरु खोली वित्तीय सेवाको पहुँच कम भएका जनताहरुलाई उनीहरुको घरदैलोमा पुगी सेवा दिनेसंस्थाका सीईओ पौडेलले जानकारी दिए । 

संस्थाको समुद्घाटन कार्यक्रममा वित्तीय संस्थाका संचालक समितिका सदस्यहरु, संस्थापक सेयरधनी, प्रमुख अतिथि, अतिथिहरु, पत्रकार तथा बिभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधीहरु, कर्मचारीहरु गरी करिब दुईसयको उपस्थिती रहेको थियो ।