Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, मोबाइल एपबाटै लिन सकिने

२०८३ आश्विन ३० गते

बैंकिङ खबर / नबिल बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई सहज बनाउने उद्देश्यसहित ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि सुरु भएको यो सेवा बैंकको nBank मोबाइल एपमार्फत लिन सकिनेछ ।

बैंकका अनुसार योग्य ग्राहकले मोबाइल एपको होमपेजमा देखिने ‘Apply Now’ विकल्पमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । बैंकले आफ्नै डेटा विश्लेषण प्रणालीका आधारमा योग्य ग्राहक पहिचान गरी उनीहरूलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ ।

परम्परागत क्रेडिट कार्डका लागि आवश्यक पर्ने कागजी प्रक्रिया र झन्झट कम गर्ने उद्देश्यले ल्याइएको यो कार्ड पूर्ण रूपमा डिजिटल हुनेछ । यसमार्फत ग्राहकले फोनेपे नेटवर्कअन्तर्गतका मर्चेन्ट क्यूआर कोडमा भुक्तानी गर्न सक्नेछन् ।

सेवा सञ्चालनका लागि नबिल बैंक र फोनेपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त सहकार्यले भर्चुअल क्रेडिट कार्डमार्फत फोनेपे मर्चेन्ट क्यूआरमा भुक्तानी गर्न सहज बनाउने बैंकले जनाएको छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै डिजिटल बैंकिङ सेवाको विस्तारमा बैंक निरन्तर काम गरिरहेको बताए । नयाँ सेवाले बैंक शाखामा पुग्नुपर्ने आवश्यकता घटाउँदै प्रविधिमा आधारित बैंकिङ सुविधालाई थप विस्तार गर्ने बैंकको अपेक्षा छ ।

बैंकले डिजिटल वित्तीय सेवाप्रतिको बढ्दो मागलाई सम्बोधन गर्न नयाँ सेवा ल्याएको जनाएको छ । नबिल बैंकका अनुसार हाल बैंकको देशभर २६२ शाखा र ३१६ एटीएम सञ्जाल छन् ।