Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२०औँ वार्षिकोत्सवमा कामना सेवा विकास बैंकको देशव्यापी रक्तदान अभियान

२०८३ कार्तिक १४ गते

बैंकिङ खबर / कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसर पारेर देशका विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न सहरमा देखिएको रगत अभाव न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले देशव्यापी रक्तदान अभियान सञ्चालन गर्न लागेको हो ।

बैंकले आफ्नो केन्द्रीय तथा क्षेत्रीय कार्यालय र शाखामार्फत दुई चरणमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । पहिलो चरणअन्तर्गत कात्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा रक्तदान कार्यक्रम आयोजना हुनेछ । दोस्रो चरणमा कात्तिक १८ गते एकै दिन सात स्थानमा कार्यक्रम सञ्चालन गरिनेछ ।

बैंकका अनुसार कात्तिक १८ गते काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय, मधेस प्रदेशको बर्दिबास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, बुटवल, घोराही र महेन्द्रनगरमा रक्तदान कार्यक्रम हुनेछ । यसका लागि सम्बन्धित क्षेत्रीय तथा शाखा कार्यालयहरूले आवश्यक समन्वय गर्नेछन् ।

रगतको आवश्यकता परेका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ । बैंकले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अभियानलाई निरन्तरता दिन लागेको हो ।

यसैबीच, बैंकले वार्षिकोत्सवकै अवसरमा छैटौँ अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल प्रतियोगितासमेत आयोजना गर्दैछ । कात्तिक १४ र १५ गते काठमाडौंस्थित धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका ३० टोली सहभागी हुनेछन् । प्रतियोगितामा नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र आर्थिक मिडिया सञ्चालक संघ (इमान) का टोलीको पनि सहभागिता रहने बैंकले जनाएको छ ।

रक्तदानजस्ता सामाजिक गतिविधि र खेलकुद प्रतियोगितामार्फत बैंकले आफ्नो वार्षिकोत्सवलाई संस्थागत उत्सवमा मात्र सीमित नराखी समुदाय तथा वित्तीय क्षेत्रसँगको सम्बन्ध विस्तार गर्ने गतिविधिका रूपमा अघि बढाएको छ ।

Ad