Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

हिमालयन रिइन्स्योरेन्सको नेतृत्वमा फेरबदल, मिश्रले पाए अध्यक्षको जिम्मेवारी

२०८३ आश्विन १९ गते

बैंकिङ खबर /  हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा नयाँ नेतृत्वसहित पुनर्गठन गरिएको छ। कम्पनीले रिक्त रहेको अध्यक्ष पदमा दिपेन्द्र कुमार मिश्रलाई जिम्मेवारी दिएको छ भने संस्थापक सेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने तीन जना नयाँ सञ्चालकको मनोनयनसमेत स्वीकृत गरेको छ ।

कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९१औँ बैठकले सञ्चालक मिश्रलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। मिश्रले आगामी वार्षिक साधारणसभा सम्पन्न नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि सोही दिन बसेको सञ्चालक समितिको ९०औँ बैठकले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा नयाँ प्रतिनिधि नियुक्त गर्ने प्रक्रिया अघि बढाएको थियो। सोहीअनुसार सम्बन्धित संस्थापक सेयरधनीबाट सिफारिस भई आएका तीन जनाको मनोनयनलाई सञ्चालक समितिले अनुमोदन गरेको हो ।

नयाँ सञ्चालकमा नेपाल बैंक लिमिटेडका तर्फबाट होमबहादुर खड्का, हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका तर्फबाट नितेश तोदी र कालिका फिनकर्प प्रालिका तर्फबाट पल्लव श्रेष्ठ रहेका छन् । कम्पनीका अनुसार तीनै जना सञ्चालकको पदावधि पनि आगामी वार्षिक साधारणसभा सम्पन्न नभएसम्म कायम रहनेछ। यससँगै संस्थापक सेयरधनी समूहबाट सञ्चालक समितिमा हुने प्रतिनिधित्व अद्यावधिक भएको छ ।

हिमालयन रिइन्स्योरेन्सले सञ्चालक समिति पुनर्गठनसम्बन्धी जानकारी सम्बन्धित नियामक तथा बजार निकायलाई समेत गराएको छ। उपलब्ध विवरणअनुसार कम्पनीले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पुनर्गठनबारे जानकारी दिएको छ । सञ्चालक समितिमा भएको यो परिवर्तनसँगै कम्पनीको बोर्ड संरचनामा नयाँ प्रतिनिधित्व थपिएको छ। अध्यक्षको जिम्मेवारी पाएका मिश्र यसअघि कम्पनीको सञ्चालकका रूपमा कार्यरत थिए। कम्पनीको आधिकारिक विवरणमा पनि मिश्रलाई सञ्चालकका रूपमा देखाइएको छ ।