Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

सन नेपाल लाइफका वरिष्ठ डीसीईओ कवि फुयाँलद्वारा राजीनामा, हिमालयन लाइफ जाने चर्चा

२०८३ आश्विन १८ गते

बैंकिङ खबर /  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कवि फुयाँलले पदबाट राजीनामा दिएका छन्। फुयाँलले शुक्रबारदेखि लागू हुने गरी कम्पनीबाट राजीनामा दिएको पुष्टि भएको छ ।

फुयाँलको राजीनामाको कारण भने सार्वजनिक गरिएको छैन। करिब डेढ वर्षदेखि सन नेपाल लाइफको वरिष्ठ व्यवस्थापन तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएका फुयाँलको बहिर्गमनसँगै उनको आगामी व्यावसायिक यात्राबारे बीमा क्षेत्रमा चासो बढेको छ।

फुयाँल २०८१ फागुनमा सन नेपाल लाइफमा आबद्ध भएका थिए। त्यसअघि उनले आइएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा जिम्मेवारी सम्हालेका थिए। आइएमई लाइफमा पहिलो कार्यकाल पूरा गरेपछि दोस्रो कार्यकालका लागि समेत सञ्चालक समितिबाट नियुक्ति पाएका फुयाँलले दोस्रो कार्यकाल सुरु हुनुअघि नै त्यहाँबाट बाहिरिने निर्णय गरेका थिए ।

हिमालयन लाइफमा जाने चर्चा

सन नेपाल लाइफबाट बाहिरिएसँगै फुयाँलको आगामी गन्तव्य हिमालयन लाइफ इन्स्योरेन्स हुन सक्ने चर्चा चलेको छ। स्रोतहरूका अनुसार उनी हिमालयन लाइफमा जाने सम्भावना रहेको बताइएको छ। यद्यपि, हिमालयन लाइफमा आबद्ध हुने विषयमा फुयाँल वा सम्बन्धित कम्पनीबाट औपचारिक पुष्टि भइसकेको छैन। त्यसैले उनको नयाँ जिम्मेवारीबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था छैन ।

हिमालयन लाइफमा नेतृत्वसम्बन्धी परिस्थिति

यसैबीच हिमालयन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालसम्बन्धी कानुनी घटनाक्रमपछि व्यवस्थापन तहमा चासो बढेको छ। दाहालविरुद्ध फौजदारी अभियोगमा मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका छन्। कम्पनीले नयाँ सीईओ नियुक्तिका लागि आवेदनसमेत आह्वान गरेको थियो। तर नियुक्ति प्रक्रियाविरुद्ध अदालतमा रिट निवेदन परेपछि उक्त प्रक्रिया रोकिएको बताइएको छ। यस्तो अवस्थामा फुयाँलले सन नेपाल लाइफबाट राजीनामा दिएपछि उनको आगामी भूमिकालाई लिएर बीमा क्षेत्रमा थप चासो उत्पन्न भएको हो ।

बीमा क्षेत्रमा लामो अनुभव

फुयाँलले नेपाली बीमा क्षेत्रमा लामो समयदेखि व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले लक्ष्मी बैंकबाट आफ्नो करियर सुरु गरी राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ हुँदै सन नेपाल लाइफसम्मको व्यावसायिक यात्रा तय गरेका छन् ।

सिटिजन लाइफमा बजारसम्बन्धी जिम्मेवारी सम्हालेका फुयाँलले आइएमई लाइफमा चार वर्ष सीईओका रूपमा नेतृत्व गरेका थिए। त्यसपछि सन नेपाल लाइफको वरिष्ठ डीसीईओका रूपमा कार्यरत रहँदै आएका थिए ।

सन नेपाल लाइफमा रहँदा कम्पनीको व्यवसाय विस्तारमा समेत फुयाँलको भूमिका रहेको कम्पनीसम्बद्ध स्रोतको दाबी छ। स्रोतका अनुसार उनी कम्पनीमा आबद्ध हुँदा करिब ७० करोड रुपैयाँ रहेको व्यवसाय १ अर्ब रुपैयाँभन्दा माथि पुर्‍याउन उनको भूमिका महत्वपूर्ण थियो ।

फुयाँलको राजीनामासँगै अब उनको आगामी जिम्मेवारी के हुने भन्ने विषय चासोको विषय बनेको छ। विशेषगरी हिमालयन लाइफसँग जोडिएको चर्चा औपचारिक निर्णयमा परिणत हुन्छ वा हुँदैन भन्ने विषय भने सम्बन्धित कम्पनी तथा फुयाँलबाट हुने औपचारिक घोषणापछि मात्रै स्पष्ट हुनेछ ।