Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध फौजदारी मुद्दा

२०८३ आश्विन १५ गते

बैंकिङ खबर / प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मासहित चार जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएको छ ।

पर्सा जिल्ला अदालतमा दायर अभियोगपत्रमा शर्मासहित तत्कालीन सनराइज बैंकका नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीलाई प्रतिवादी बनाइएको छ। शर्मा त्यसबेला सनराइज बैंकको सीईओका रूपमा कार्यरत थिए ।

सरकारी वकिलको कार्यालय पर्साले दायर गरेको अभियोगपत्रमा चारै जना हाल सम्पर्कमा नरहेको उल्लेख गर्दै अदालतबाट म्याद पुर्जी जारी गर्न माग गरिएको छ । पछिल्लो विवरणअनुसार उनीहरूविरुद्धको मुद्दा स्वीकृत कर्जा उपलब्ध नगराएको विषयसँग जोडिएको छ ।

वीरगन्जमा भवन निर्माण सामग्री तथा हार्डवेयरको कारोबार गर्दै आएको अञ्जली इन्टरनेसनलले व्यवसाय विस्तारका लागि बैंकबाट थप कर्जा माग गरेको थियो। बैंकको केन्द्रीय कार्यालयबाट २०८० वैशाख ५ गते अञ्जली इन्टरनेसनलका लागि ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ थप कर्जा स्वीकृत भएको अभियोगपत्रमा उल्लेख छ ।

कर्जा सुरक्षणका लागि बाराको अमवास्थित जग्गा बैंकको पक्षमा धितोबन्धकसमेत गरिएको उल्लेख छ। तर स्वीकृत कर्जा प्राप्त नभएको भन्दै अञ्जली इन्टरनेसनलले कानुनी प्रक्रिया अघि बढाएको हो ।

यसैबीच, शर्मालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको र त्यसको जानकारी पाएपछि उनी पर्सातर्फ गएको दाबी स्रोतको छ। बैंकभित्रबाट मानव संसाधन विभागमा ‘फोर्स लिभ’सम्बन्धी इमेल पठाएर उनी पर्सा गएको बताइएको छ। यद्यपि, यस विषयमा आधिकारिक निकायबाट थप पुष्टि हुन बाँकी छ ।

बैंकका सूचना अधिकारी रविन्द्र ढकालले भने घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

शर्मा २०८२ माघमा प्रभु बैंकको सीईओमा नियुक्त भएका हुन्। यसअघि उनी तत्कालीन सनराइज बैंक र माछापुच्छ्रे बैंकको सीईओसमेत भइसकेका छन् ।