
बैंकिङ खबर / भोटेकोशीमा आएको बाढीले बैंकिङ क्षेत्रको भौतिक संरचनादेखि नगद तथा अन्य सम्पत्तिसम्ममा ठूलो क्षति पुर्याएको छ । संघीय संसद्को अर्थ समितिअन्तर्गतको अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार बाढीबाट ११ वटा वाणिज्य बैंक प्रभावित हुँदा करिब ७३ अर्ब रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण प्रभावित बैंकका १४ वटा शाखा कार्यालयमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । बाढीको प्रभावका कारण केही शाखामा आंशिक क्षति भए पनि अधिकांश शाखाको भौतिक संरचना गम्भीर रूपमा प्रभावित भएको जनाइएको छ ।
प्रतिवेदनले बैंकहरूको क्षतिलाई नगद र अन्य सम्पत्तिका रूपमा छुट्ट्याएको छ । त्यसअनुसार करिब १७ अर्ब २४ करोड रुपैयाँ नगदमा क्षति पुगेको छ । यस्तै, नगदबाहेक बैंकको करिब ५५ अर्ब ६८ करोड रुपैयाँ बराबरको सम्पत्तिमा क्षति भएको उल्लेख छ ।
नगद तथा गैरनगद सम्पत्तिमा भएको क्षतिलाई जोड्दा बैंकिङ क्षेत्रमा करिब ७३ अर्ब रुपैयाँ बराबरको क्षति देखिएको हो । बाढीले शाखा कार्यालय, बैंकिङ पूर्वाधार तथा अन्य सम्पत्तिमा पुर्याएको क्षतिले प्रभावित क्षेत्रमा वित्तीय सेवा सञ्चालनमा समेत चुनौती थपिएको छ ।
बाढीको असर भौतिक सम्पत्तिमा मात्र सीमित नभई बैंकिङ जनशक्तिमा समेत परेको प्रतिवेदनले देखाएको छ । बाढीपछि बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी सम्पर्कविहीन रहेको उल्लेख गरिएको छ ।
भोटेकोशी बाढीबाट बैंकिङ क्षेत्रसँगै उद्योग, व्यापार, ऊर्जा, पूर्वाधारलगायत आर्थिक गतिविधिमा पनि ठूलो असर परेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पछिल्लो द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए) ले भने १२ बैंक तथा वित्तीय संस्थाका १७ शाखा प्रभावित भएको र ती शाखामा करिब ७२ करोड ४० लाख रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको छुट्टै आकलन गरेको छ ।
यसरी हेर्दा विभिन्न अध्ययनमा बैंकिङ क्षेत्रको क्षतिको आँकडा फरक देखिएको छ । अर्थ समितिको अध्ययन उपसमितिको प्रतिवेदनमा उल्लेख भएको ठूलो रकममा बैंकको नगदबाहेकको सम्पत्ति तथा क्षतिको दायरा समावेश भएको देखिन्छ भने RDNA ले शाखा तथा वित्तीय क्षेत्रको प्रत्यक्ष भौतिक क्षतिलाई छुट्टै मूल्यांकन गरेको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर राख्न नेपाल राष्ट्र बैंकले अत्यावश्यक सेवा सञ्चालन, प्रभावित शाखा स्थानान्तरण तथा समायोजन, मोबाइल बैंकिङ र विद्युतीय कारोबारलगायत विषयमा विभिन्न सहजीकरणका व्यवस्था गरेको छ ।
भोटेकोशी बाढीले बैंकिङ पूर्वाधार प्राकृतिक विपद्को जोखिमबाट कति प्रभावित हुन सक्छ भन्ने विषयलाई समेत सतहमा ल्याएको छ । विशेषगरी जोखिमयुक्त क्षेत्रमा रहेका शाखाको वैकल्पिक सेवा व्यवस्था, सम्पत्ति सुरक्षा, कर्मचारीको सुरक्षा तथा विपद्को समयमा वित्तीय सेवा निरन्तरताको तयारीलाई थप बलियो बनाउनुपर्ने देखिएको छ ।