Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मिनबहादुर बोहरा नियुक्त

२०८३ आश्विन १ गते

बैंकिङ खबर  /  नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको जिम्मेवारी मिनबहादुर बोहराले सम्हाल्ने भएका छन्। संस्थाको सञ्चालक समितिको ४०५औँ बैठकले २०८३ भदौ ३० गते बोहरालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति २०८३ असोज १ गतेदेखि लागू भएको छ ।

यसअघि सीईओको जिम्मेवारीमा रहेका केशवकुमार पौडेलले व्यक्तिगत तथा पारिवारिक कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। सञ्चालक समितिले पौडेलको राजीनामा असोज १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेपछि रिक्त स्थानमा बोहरालाई नियुक्त गरिएको हो ।

लघुवित्त व्यवस्थापनमा बोहराको लामो अनुभव

बोहरासँग बैंकिङ तथा लघुवित्त क्षेत्रमा विभिन्न व्यवस्थापकीय तहमा काम गरेको अनुभव छ। उनले यसअघि कालिका लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरिसकेका छन्। नेपाल एग्रो लघुवित्त वित्तीय संस्थामा उनले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालेका थिए ।

नेरुडे मिर्मिरे लघुवित्तसँग बोहराको यसअघिको कार्यसम्बन्ध पनि रहेको छ। उनी संस्थामा नायब कार्यकारी प्रमुखका रूपमा कार्यरत भइसकेका छन् ।

त्यसैगरी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ। ग्रामीण विकास बैंक (नेपाल ग्रामीण बैंक) बाट व्यावसायिक यात्रा सुरु गरेका बोहराले त्यहाँ शाखा प्रबन्धक तथा अनुगमन तथा मूल्याङ्कन विभागमा समेत जिम्मेवारी सम्हालेका थिए ।

कर्जा गुणस्तर सुधार नयाँ नेतृत्वको प्रमुख चुनौती

नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्दै गर्दा नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्थामा कर्जा गुणस्तर र जोखिम व्यवस्थापन प्रमुख विषयका रूपमा देखिएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको कुल सम्पत्ति २० अर्ब ९५ करोड ९४ लाख रुपैयाँ रहेको छ। ग्राहकलाई प्रवाह भएको कर्जा १९ अर्ब ३२ करोड २४ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ७ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा संस्थाले २३ करोड ५९ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। वित्तीय विवरणअनुसार संस्थाको जोखिमभारित सम्पत्तिको तुलनामा पुँजी कोष अनुपात ९.३८ प्रतिशत रहेको छ ।

यस्तै, संस्थाको निष्क्रिय कर्जा अनुपात १९.८६ प्रतिशत, कोषको लागत ६.२७ प्रतिशत र ब्याजदर अन्तर ८.६३ प्रतिशत रहेको छ ।

यी सूचकलाई हेर्दा नयाँ सीईओका लागि कर्जा असुलीलाई प्रभावकारी बनाउने, निष्क्रिय कर्जा घटाउने, जोखिम व्यवस्थापन सुदृढ गर्ने तथा पुँजी र वित्तीय स्थायित्व कायम राख्ने विषय महत्वपूर्ण व्यवस्थापकीय एजेन्डा बन्ने देखिन्छ ।

बोहराको नेतृत्वमा संस्थाले कर्जा व्यवस्थापन र असुली प्रक्रियालाई थप प्रभावकारी बनाउँदै सञ्चालन दक्षता तथा व्यावसायिक उत्पादकत्व बढाउने अपेक्षा गरिएको छ। साथै, संस्थागत सुशासन, जोखिम नियन्त्रण र डिजिटल सेवाको विस्तारमार्फत दीर्घकालीन वित्तीय स्थायित्वलाई बलियो बनाउने दिशामा नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण रहनेछ ।