
बैंकिङ खबर / रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० लाख ६ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि सहयोग गर्ने उद्देश्यले संस्थाले आर्थिक सहायता प्रदान गरेको हो ।फरवार्ड माइक्रोफाइनान्सका अनुसार कुल सहयोग रकममध्ये १६ लाख रुपैयाँ संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उपलब्ध गराइएको हो । त्यस्तै, संस्थामा कार्यरत कर्मचारीबाट संकलन गरिएको १४ लाख ६ सय ६५ रुपैयाँसमेत राहत कोषमा जम्मा गरिएको छ ।
संस्थाले आर्थिक सहयोगमा मात्र सीमित नरही बाढीबाट प्रभावित परिवारका लागि आवश्यक दैनिक उपभोग्य तथा राहत सामग्रीसमेत प्रत्यक्ष रूपमा वितरण गर्ने जनाएको छ। विपद्का कारण प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न संस्थागत रूपमा थप सहयोग गर्ने तयारी रहेको संस्थाले जनाएको छ।
फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरीले प्राकृतिक विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु संस्थाको सामाजिक उत्तरदायित्व भएको बताइन्। राष्ट्र नै विपद्को चपेटामा परेको अवस्थामा सरकारको राहत तथा पुनःस्थापना अभियानमा संस्थागत रूपमा सहभागी हुनु मानवीय तथा सामाजिक दायित्व भएको उनको भनाइ छ।
संस्थाले बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। फरवार्ड माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त राष्ट्रियस्तरको ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्था हो। संस्थाले देशका विभिन्न ४० जिल्लामा १५९ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाका अनुसार हाल करिब २ लाख ८४ हजार ग्राहक सदस्य संस्थासँग आबद्ध छन् ।
लघुवित्त संस्थाहरूले वित्तीय सेवासँगै विपद् तथा सामाजिक क्षेत्रमा समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएका छन् । फरवार्ड माइक्रोफाइनान्सको पछिल्लो सहयोग पनि बाढीबाट प्रभावित नागरिकको तत्काल राहत र पुनःस्थापनामा निजी क्षेत्रबाट गरिएको योगदानका रूपमा आएको हो ।